दिलबहादुर केसी
सोमवार, बैशाख ३०, २०७६
617

दोलखा। सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । आयोजनाको ५.६७ किमि मुख्य सुरुङ (हेडरेस) लामो सुरुङ पूरा भएको हो । यो मुख्य सुरुङ खन्नका लागि जाने अडिटबाहेकको हो ।
दोस्रो खण्ड छेडिएपछि मुख्य सुरुङ वारपार भएको सिंगटी हाइड्रो इनर्जी कम्पनीका अध्यक्ष बटु लामिछानेले बताए । उनका अनुसार सुरुङ लाइलिङ ढलानको काम पनि भइरहेको छ । “पहिलो खण्ड पूरा गरेर ढलानको काम सुरु गरेका थियौं,” उनले भने, “६० प्रतिशत ढलान सकिएको छ ।” आगामी साउनदेखि विद्युत् उत्पादन गर्ने गरी आयोजनाको निर्माण तीव्र पारिएको उनले बताए ।

आयोजनाको बाँध क्षेत्रको संरचना निर्माणको काम पूरा भइसकेको छ । हेडवक्स क्षेत्रका बाँध, डिसान्डर, इन्टेक, गेटहरूको परीक्षणसमेत पूरा भएको छ । विद्युत्गृहमा ७० प्रतिशत काम सकिएको सिंगटी खोला जलविद्युत् आयोजनाका आयोजना प्रमुख मनहरि सापकोटाले बताए ।
विद्युत्गृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान सुरु भएको छ । लक्ष्यअनुसार साउन १ गतेदेखि विद्युत् उत्पादन हुने भए पनि १३२ केभी सिंगटी–लामोसाँघु प्रसारणलाइन तयार नहुँदा विद्युत् खेर जाने हो कि भन्ने आयोजना व्यवस्थापनको चिन्ता छ । “सिंगटी लक्ष्यअनुसार विद्युत् उत्पादन गर्ने गतिमा निर्माणाधीन छ,” उनले भने, “तर, प्रसारणलाइन निर्माण सुस्त हुँदा विद्युत् खेर जाने अवस्था आएको छ ।”
सबैभन्दा कठिन काम भनेको सुरुङको काम हो । त्यसको ब्रेक थ्रुले आयोजना समयमै पूरा गर्न अर्को इँट्टा थपेको प्रतिक्रिया दिए । आयोजनाको सुरुङको यो पहिलो खण्डको ब्रेक थ्रु भने ६ महिनाअघि नै भएको थियो । पहिलो खण्डको लम्बाइ अडिटबाहेक २ हजार ९ सय मिटर छ ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, सेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिए । सिभिल निर्माण सुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उनले बताए ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले २ वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पु¥याएको छ । आयोजनाको समग्र प्रगति ९० प्रतिशत भएको छ । शिरिसघारीस्थित कात्तिकेमा विद्युत्गृहको निर्माण भइरहेको छ । आयोजनाको प्रभावित क्षेत्र साविकको बाबरेसहित लामिडाँडा, खोपाचागू, लादुक र चिलंखा साविकका गाविस पर्दछन् । बाबरे र चिलंखागाविस बीचमा सोरुङ खोलामा इन्टेक र डिस्यान्डर बनाएर आयोजनाको ६ किमि सुरुङ निर्माण गरी लामिडाँडा ७ को जुरेपानीमा सर्जट्यांक निर्माण हुनेछ ।
त्यसपछि ९ सय ५० मिटर पेनस्टकमार्फत लामिडाँडाकै शिरिसघारीमा पावरहाउसमा पानी खसाली विद्युत् उत्पादन हुनेछ । आयोजनाको पेनस्टक पाइप पनि जडान गर्न अब २ सय मिटरमात्र बाँकी रहेको आयोजना प्रमुख सापकोटाले बताए ।
सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका थियो । केही प्राविधिक कामले ढिला भए तापनि साउनदेखि विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।
विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका २ युनिट राखेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ । ४ अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड स्वपुँजी लगानी छ । १६ मेगावाटमा निर्माण सुरु गरिएको आयोजना ९ मेगावाट क्षमता बढाएर २५ मेगावाट पुरयाइएको होे ।