कारोबार संवाददाता
शनिवार, बैशाख २८, २०७६
684

पाल्पाको रैनादेवी छहरा–तीनगिरे–सुन्दरढुंगा र रुपन्देहीको सालझण्डी जोड्ने सडकको कालोपत्रे सुरु भएको छ । ५ नं. प्रदेश सरकारको लगानीमा पाल्पाको पश्चिम भेग सुगुरेढुंगादेखि रुपन्देहीको सालझण्डी जोड्ने २४ किमि सडकको कालोपत्रेको काम सुरु भएको हो ।
५ नं. प्रदेश सरकारले आगामी चार वर्षभित्रमा कालोपत्रे गर्ने उद्देश्यका साथ यो वर्षदेखि काम सुरु गरेको हो । यो वर्ष ग्राभेल गरी स्तरोन्नति गर्न ५० लाख लगानी गरेको ५ नं. प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

सडकको स्तरोन्नति भएपछि यस क्षेत्रका जनताको आर्थिक, सामाजिक तथा विकासमा परिवर्तन हुने भएकाले कालोपत्रे गर्ने उद्देश्यका साथ काम सुरु भएको उनले जानकारी दिए । सडक स्तरोन्नति गर्न आगामी वर्षमा पनि निरन्तर बजेट बढाएर लैजाने उनले बताए । यो वर्ष काम गर्न भावना कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ ।
पाल्पा, गुल्मी, अर्घाखाँची गरी तीन जिल्लाका यात्रुलाई मध्यनजर गर्दै प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेर काम सुरु गरेको प्रदेश सभा सदस्य तुलाराम घर्तीमगरले बताए । उनले बाटोको स्तरोन्नति भएपछि सिद्धबावाको वैकल्पिक मार्गको रूपमा समेत यो सडक रहने विश्वास व्यक्त गरे । बाटो निर्माण शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नारायण आचार्यले पहाड र तराई जोड्न यो बाटो कालोपत्रे हुनुपर्ने बताए ।
यो सडक स्तरोन्नति भहुँदा गुल्मी, अर्घाखाँची र पाल्पाको पश्चिम भेगका जनता २० किलोमिटर छोटो दूरीमा बुटवल पुग्नेछन् । यस्तै सिद्धबावा र सिद्दार्थ राजमार्गमा दिनहुँ हुने ट्राफिक जामलाई समेत कम गर्न सकिने रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । यो वर्ष नाली निर्माण, सेफ्टीवाल, ग्राभेल तथा कालोपत्रेको काम हुने निर्माण व्यवसायीले जनाएको छ ।