कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६
677

रेल विभाग र भारतको कोंकण रेलवेज कर्पाेरेसन लिमिटेडबीच जयनगर (भारत)–जनकपुरको कुर्था (नेपाल) चल्ने दुई रेल खरिद सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव मधुसुधन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंहको उपस्थितिमा शुक्रबार दुई देशका अधिकारीले दुई वटा डीईएमयू (डिजेल इलेक्ट्रिक मल्टिपल यूनिट) रेल खरिद गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार नेपालले खरिद गर्ने कार पाँच डिब्बाको हुनेछ, तीमध्ये दुई वटामा इन्जिन हुनेछन् भने बाँकी तीन वटा वातानुकुलित यात्रुवाहक डिब्बा हुनेछन्।
नेपालले भारतबाट खरिद गर्न लागेका दुबै रेल १ हजार ६ सय ‘हर्स पावर’ का हुनेछन्। र, दुबै रेल डिजेलबाट चल्ने मेसिनले उत्पादन गर्ने विजुलीबाट चल्नेछन्। यस्तो रेललाई ‘डेमो इन्जिनयुक्त रेल’ भनिन्छ।
नेपालले खरिद गर्न लागेको रेल भारतको चेन्नई (तामिलनाडु) स्थित इन्टिग्रेटेड कोच फ्याक्ट्रीले उत्पादन गरेको हो। जयनगर–कुर्था रेलमार्ग पनि भारतीय अनुदानमा निर्माण भएको हो।
जनकपुर–जयनगर रेल सञ्चालन गर्न नयाँ रेल खरिद गर्न रेल विभागकाे प्रस्तावलाइ सरकारले स्वीकृति दिएकाे करिब दुई महिनापछि रेल विभागले सम्झौता गरेकाे हाे । मन्त्रिपरिषद्ले चैतमा कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो।