दिलबहादुर केसी
शुक्रवार, बैशाख २७, २०७६
1084

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङभित्र पेनस्टक पाइप जडानको क्रममा क्रेनको तार चुडिँदा काम प्रभावित भएको छ । पेनस्टक पाइप जडानका लागि क्रेनले उठाएर तल लैजाने क्रममा तार चुँडिएको हो । तार चुँडिएपछि तल्लो पेनस्टक साफ्टको काम एक सातादेखि रोकिएको छ ।
सुरुङभित्रको पावर हाउससँगको वेण्ड पाइप जडान पूरा गरेर ठाडो सुरुङको पाइप जडानको काम सुरु गर्न लाग्दा तारको डोरी नै चुँडिएको हो । तार चुँडिएलगत्तै भारतबाट डोरी मगाएको छ । बुधबार भारतबाट डोरी काठमाडौं विमानस्थलमा आइसकेको र भन्सारको काम मिलाएर बिहीबार नै आयोजना थल पु¥याउने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । तारको डोरी आयोजनास्थल पुग्ने बित्तिकै २÷३ दिनमै पूरा गरेर पाइप जडानको काम पुनः सुरु हुने उनले बताए । आयोजनाको हेडवक्र्स, पावरहाउस र सुरुङ निर्माणको काम लगभग पूरा भइसके पनि ठाडो सुरुङमा पेनस्टक पाइप राख्न भने चुनौतीपूर्ण मानिएको छ ।

अहिले तल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज हाइड्रो र माथिल्लो सुरुङमा भारतीय कम्पनीले टेक्सम्याकोले गरिरहेको छ । तल्लो सुरुङमा पेनस्टक पाइप जडान गर्ने क्रममा क्रेनको तार चुँडिएको हो । आयोजनाको माथिल्लो र तल्लो पेनस्टक साफ्टमा पेनस्टक पाइप जडान गर्नुपर्नेछ । ५ मिटर लम्बाइ भएका एउटा पाइपको तौल २७ टन हुन्छ । सुरुङभित्र पाइप जडानका लागि क्रेन जडान गरिएको थियो । ठाडो सुरुङ र पावर हाउस जोड्ने गरी वेन्ड पेनस्टक पाइप भने जडान भइसकेको छ । माथिल्लो पेनस्टक साफ्टमा पनि भारतीय कम्पनी टेक्सम्याकोले वेन्ड पाइप जडान भइरहेको छ ।

२ सातापछि हेडवक्सको परीक्षण
आयोजनाको हेडवक्र्स संरचनाको परीक्षण भने २ सातापछि सुरु गर्ने तयारी छ । हेडवक्र्समा बाँधको संरचना, बालुवा थिग्रयाउने पोखरी र पानी नियन्त्रणका लागि हाइड्रोलिक गेट जडान गर्ने काम सकिएको छ । अब बाँध र पोखरीमा पानी जम्मा गरेर परीक्षणको काम सुरु गर्ने अन्तिम तयारीमा रहेको उनले बताए ।
पावर हाउसको पनि काम पूरा भइसकेको छ । तर पावर हाउसभित्रका उपकरणको परीक्षणका लागि पानीकै आवश्यकता पर्ने भएकाले अब पानीकै पर्खाइमा छ । तर पावर हाउसका उपकरण चल्ने पानी आउने बाटो भनेको मुख्य सुरुङ र पेनस्टक पाइप हुन् । आयोजनाको अब मुख्य काम भनेको पेनस्टक पाइप जडान मात्र हो ।
आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो । भारतीय कम्पनीले काममा ढिलाइ गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको हो । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच पुस २३ मा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो । आयोजनाको तल्लो पेनस्टक पाइप ३ सय ७३ मिटर र माथिल्लो ३१० मिटर ठाडो सुरुङ छ ।
आयोजनाको निर्माण गत पुसमा सक्ने लक्ष्य लिइएको भए पनि ठेकेदार कम्पनीको ढिलाइ कारण आगामी पुसमा पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ तालिका निर्धारण गरिएको छ । २०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । तर अन्तर्राष्ट्रिय मुद्रामा भएको मूल्य वृद्धि, समय लम्बिँदाको खर्च, व्याजसहित आयोजना पूरा हुँदा लागत दोब्बर हुने अनुमान गरिएको छ ।