प्रगति ढकाल
मंगलबार, बैशाख २४, २०७६
886

चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिडेटले फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजुली निकाल्न चिनियाँ कम्पनीले लगानी बोर्डमा ८ अर्बको लगानी प्रस्ताव दर्ता गराएको हो ।
कम्पनीद्वारा जारी विज्ञप्तीअनुसार २ वर्षमा परियोजनाको काम सम्पन्न गर्नेगरी लगानी प्रस्ताव दर्ता गराइएको छ । लगानी बोर्डमा परियोजना दर्ता भएको र लगानी बोर्डको स्वीकृति भएमा छिट्टै नै काम सुरु गर्ने कम्पनीको भनाइ छ ।

लगानी बोर्डका प्रवक्ता बलराम रिज्यालले फहोरबाट बिजुली निकाल्न चिनियाँ कम्पनी चाईना कोन्स भेन्चर होल्डिङ्स लिमिडेटले ८ अर्ब लगानी प्रस्ताव गरेको बताएका छन् । “चिनियाँ कम्पनीको प्रस्ताव दर्ता भएको छ, स्वीकृत हुने या नहुने भन्ने बिषयमा टुंगो लागेको छैन,” उनले भने, “कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को आधारमा लगानी स्वीकृत गर्ने नगर्ने विषय टुंगो लाग्नेछ ।”
कम्पनीको योजनाअनुसार तत्कालका लागि बिराटनगर महानगरपालिका र आसपासको स्थानहरूबाट फोहोर संकलन गर्ने योजना छ । १० मेगावाट बिजुली उत्पादन गर्न दैनिक ५०० टन फोहोर आवश्यक पर्ने र बिराटनगर महानगरपालिकाबाट मात्रै फोहोर व्यवस्थापन हुन नसक्ने भएपछि परियोजनाले आसपासका अन्य सहरहरूको फोहोर संकलन गर्ने योजना बनाएको हो । कम्पनीका अनुसार बिराटनगर महानगरपालिका, दुहवी नगरपालिका, इनरुवा नगरपालिका, इटहरी उप–महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, पथरी नगरपालिका, रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बूढीगंगा, ग्रामथान, कटहरी, जहडा र गढी गाउँपालिकाबाट फोहोर संकलन गर्ने कम्पनीको योजना छ ।
यस कम्पनीले चीन, जापान, सिंगापुर, साउथ कोरिया, भियतनाम, इटाली लगायतका देशमा २२० ओटा फोहोरबाट बिजुली निकाल्ने प्लान्ट सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार वार्षिक करिब १० खर्ब रुपैयाँ आम्दानी गर्दै आइरहेको छ । नेपालको फोहोर व्यवस्थापन गर्दै प्रदूषण हटाउने र ऊर्जाको आवश्यकता पूरा गर्न लगानीका लागि इच्छुक देखिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले गरेको लगानी प्रस्तावमा हाइड्रोपावरबाट उत्पादन हुने बिजुलीको दररेटभन्दा फोहोरबाट उत्पादन हुने बिजुलीको दररेटमा सहुििलयत दिनुपर्ने उल्लेख छ ।
वातावरणविद् भुषण तुलाधारले फोहार जलाउँदा उच्च तापक्रममा ८ सयदेखी १ हजार तामक्रममा जलाइएन भने हानिकारक ग्यास उत्पादन हुने र वातावरणमा नकारात्मक असर पु¥याउने बताएका छन् । “फोहोर व्यवस्थापन गरेर ऊर्जा निकाल्ने परियोजनामा लगानी गर्नु भनेको सकारात्मक कुरा हो, फोहोर व्यवस्थापन हुन्छ र वातावरण सुधार हुन्छ,” उनले भने, “तर फोहोर जलाउँदा उच्च तापक्रममा नजलाए वातावरण प्रदूषण बढाउँछ, तामक्रम मेन्टन गर्नुपर्छ र निगरानी बढाउनुपर्छ ।”
तुलाधारले फोहोरबाट उर्जा उत्पादन गर्ने क्रममा ग्यास ननिस्के पनि खरानी राम्रोसँग व्यवस्थापन नभए प्रदुषण बढ्ने बताए । “फोहोरबाट बिजुली निकाल्नु सजिलो त छैन, नेपालमा भिजेको फोहोर हुन्छ तर पनि लगानी गर्ने कम्पनीहरू आउँछन् भने, लगानीको वातावरण सिर्जाना गर्नुपर्छ,” उनले थपे, “तर, यस्ता कम्पनीलाई पनि उद्योगको रूपमा हेरिनुपर्छ र राम्रोसँग अनुगमन गर्न आवश्यक छ । ”