विप्लव काफ्ले
सोमवार, बैशाख २३, २०७६
1974

चितवनमा नियमित जलयात्रा सुरु गर्न लागिएको छ । सम्भवतः नेपालकै लामो जलयात्राका लागि निजी क्षेत्रले त्रिशूली र नारायणी नदीमा मोटरबोट चलाउने प्रक्रिया अघि बढाएको छ ।
आयुष्मा मोटरबोट कम्पनी प्रालिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्टारको कार्यालयबाट भदौ ३ गते प्रमाणपत्र पाएको छ । पर्यटन बोर्डबाट फागुन ११ गते मुग्लिन फिस्लिङदेखि सानोगढीसम्म मोटरबोट चलाउने स्वीकृत पाएको छ । “२ मोटरबोट ल्याइसकेका छौँ, प्राविधिक परीक्षणको काम छिटै हुनेछ,” आयुष्माका अध्यक्ष विजयचन्द्र अधिकारीले भने, “विगतमा सर्भे गरेका थियौँ, कानुनी प्रक्रिया पनि पूरा गरिसकेका छौँ, जेठदेखि सञ्चालन गर्ने योजनामा छौँ ।” उनका अनुसार नेपालमै बनेको १४ सिट र भारतको कलकत्ताबाट ल्याइएको १० सिट क्षमताका दुई मोटरबोट ल्याइसकिएको छ । “कुरिनटार (मनकामना केवलकार सञ्चालन हुने ठाउँ) देखि सानोगढीसम्म चलाउने तयारी छ,” उनले भने, “करिब ६० किमिको जलयात्रा हुनेछ, सम्भवतः यो नेपालकै लामो हो ।”

भारतबाट प्राविधिक ल्याएर मोटरबोट सञ्चालन गरिने बताए । “ढुंगा, पानीको बहाब र छालबारे थप अध्ययन गरेपछि मात्रै चलाइनेछ,” उनले भने, “सुरक्षित जलयात्रा गराउन लागिपरेका छौँ ।” उनका अनुसार उद्धार कर्तासमेत मोटरबोटसँगै हुनेछन् । त्यसका लागि २ सिट क्षमताका छुट्टै मोटरबोट सञ्चालन गरिनेछ । “दृश्यावलोकन गर्न जलयात्राले सघाउनेछ,” कम्पनीका उपाध्यक्ष गणेश थापाले भने, “पर्यटन प्रवद्र्धनका लागि जलयात्रा उपयोगी हुनेछ ।” मनकामना, देवघाट, चितवन राष्ट्रिय निकुञ्जबाट नदी किनारमा देखिने गैडा, बाघ, चराचुरुंगी, बँदेललगायतका जनावरका दृश्य नियाल्न जलयात्राप्रति पर्यटकको आकर्षण बढ्ने उनको भनाइ छ । करिब १ करोड खर्चेर मोटरबोट चलाउन लागिएको जनाइएको छ । यही कम्पनीले मनकामना क्षेत्रमा डेढ करोड लगानीमा गोल्डेन रिसोर्ट चलाउने तयारी गरेको छ । १५ जनाको सेयर लगानीमा मोटरबोट चलाउन लागिएको हो । प्रतिसेयर ५ लाखका दरले लगानी गरेका छन् ।
चितवनका ११ जना, काठमाडांैका ३, नेपालगञ्जका १ जनाले लगानी गरेका छन् । भरतपुरका कृष्णप्रसाद अधिकारीले स्थानीय पर्यटकीय गन्तव्य चिनाउन जलयात्राले सघाउने बताउँछन् । “नदी किनारका दृश्यले स्वदेशी तथा विदेशी पर्यटक रमाउनेछन्,” उनले भने, “निजी क्षेत्रको लगानीमा सुरु हुन लागेको जलयात्राले चितवनको पर्यटनमा योगदान दिनेछ ।” मोटरबोट पानीको बहाब बढी हुने महिना असारदेखि भदौमा चलाइने छैन । कम्पनीले मोटरबोटबाट यात्रा गर्दाको शुल्क निर्धारण गरिसकेको छैन । मनकामनामा मोटरबोटको पहिलो स्टेसन बनाउने काम सुरु भएको छ । कालिखोला, नारायणगढ र सानोगढीमा छिटै स्टेसन बनाउने काम सुरु हुनेछ । ४ स्टेसनअनुसारको शुल्क कायम गरिने जनाइएको छ ।
मनकामनादेखि भरतपुर–१६ मा रहेको ज्ञानेश्वर सामुदायिक वन क्षेत्रमा पर्ने सानोगढीसम्म पुग्न १ देखि ३ घण्टा लाग्ने जनाइएको छ । “प्रतिव्यक्ति र समूहगत आउनेलाई शुल्क फरक फरक कायम गरिनेछ,” अध्यक्ष विजयचन्द्रले भने, “प्याकेजका कार्यक्रम नै बनाउने छौँ, बोर्ड बैठकले १–२ दिनमै शुल्क तोक्नेछ ।” यात्रुलाई लाइफ ज्याकेट अनिवार्य उपलब्ध गराइनेछ । हरेकको बिमा हुनेछ । तालिम प्राप्त दक्ष चालकलाई नियुक्ति गरिनेछ । आयुष्माको केन्द्रीय कार्यालय भरतपुर–२१ मा राखिने जनाइएको छ ।
१ वर्षभित्रै मिनी पानी जहाज चलाइने उनले बताए । उनका अनुसार ८० सिट क्षमताको मिनी पानी जहाज (स्मल प्यासेन्जर सीप) चलाउन सेयर खुल्ला गरिने छ । मुग्लिनदेखि त्रिवेणीसम्म जलयात्रा सञ्चालन गर्न निजी क्षेत्रले धेरै पहिलेदेखि सक्रियता देखाएका थिए । चितवन महोत्सवमा बेलाबखत नारायणी नदीमा मोटरबोट चलाउने गरिएको छ । करिब ४ किमिको दूरीमा मोटरबाट चलाउने गरिएको पाइन्छ । यसअघि निजी क्षेत्रकै पहलमा कोसी नदीमा ४ वटा मिनी पानी जहाज सञ्चालनमा आइसकेका छन् । सरकारले पानी जहाज कार्यालयसमेत स्थापना गरिसकेको छ ।