कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६
532

चैतमा बारा र पर्सा जिल्लामा आएको हावाहुरी प्रभावित क्षेत्रमा जनता आवास कार्यक्रम सुरु भएको छ ।
कार्यक्रम सञ्चालन गर्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजनाअनुसार शनिबार उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका छन् । ‘जनता आवास’ कार्यक्रमको फेटा गाउँपालिका–६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री पोखरेलले, परवानीपुर–४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले र प्रसौनी गाउँपालिका–४ खटुवाजग्दीमा गृहमन्त्री रामबहादुर थापाले शिलान्यास गरे । त्यसैगरी वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सुवर्ण गाउँपालिका–४ हर्दियामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पचरौता नगरपालिका–७ बेनौलीमा संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डित र फेटा गाउँपालिका–४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले जनता आवास कार्यक्रमको शिलान्यास गरेका छन् । त्यस्तै वीरगन्ज महानगरपालिका–५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बिना मगर, फेटा गाउँपालिका–४ भरवलियामा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, महागढीमाई नगरपालिका–७ तेलगाईमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले र कलैया उपमहानगरपालिका–१३ छोट्किफुलबारिया र देवताल गाउँपालिका–७ रामपूर्वामा प्रदेश नं. २ का मुख्यमन्त्री राउतले शिलान्यास गरेका थिए ।

हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १ हजार ३६२ घर गरी जम्मा १ हजार ४५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरलगायत २ हजार ३३२ जना दक्ष जनशक्ति परिचालित छन् । तीन चरणमा सम्पन्न गरिने उक्त ‘जनता आवास’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ४८२ घर जेठ २६ गतेभित्र, दोस्रो चरणमा ४८२ घर असार २८ गतेभित्र र तेस्रो चरणमा ४८९ घर साउन ३० गतेभित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य सेनाको छ । उक्त निर्माणाधीन घरहरूको अनुगमन, नियन्त्रण, समन्वय र सहयोग गर्नका लागि स्थानीयस्तरमा पुनःस्थापना तथा घर पुनर्निर्माण सहजीकरण समन्वय समिति गठन भएको छ ।
शिलान्यास कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई दिइएको जिम्मेवारी समयमा नै सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताए । सोही अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री राउतले निर्माणकार्यका लागि नेपाली सेनालाई जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताए । कार्यक्रममा नेपाली सेनाको तर्फबाट बलाध्यक्ष रथी गौरव तण्डुलले पनि मन्तव्य राखेका थिए ।