सागर परियार
शनिवार, बैशाख २१, २०७६
488

जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वीभेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हँुदैछ । वैशाख अन्तिम साताभित्र बिजुलीले गाउँ झिलीमिली गर्ने लक्ष्यका साथ निर्माणाधीन विद्युत्को काम तीव्र रूपमा अघि बढिरहेको छ । आर्थिक वर्ष ०७१-०७२ बाट विद्युत् निर्माण कार्य सुरु गरिएको हो ।
पातारासी गाउँपालिका–४ लाम्री गाउँकी स्थानीय रामतुला बुढाले भनिन्, “घरमा बिजुली बालौंला भन्दै अहिले तीन वर्ष बित्यो अझै वैशाखमा बल्ने भन्ने छ तर काम बाँकी छ । योभन्दा पहिला दियालोबाट दिन गुजारियो हाम्रा दिन अँध्यारोमै बिते, अब बालबच्चालाई पढ्न लेख्न सहज होला उज्यालो होला भनेर हामी सबै स्थानीय लागिपरेका छौं ।”

रकम अभावले आयोजनाको निर्माणकार्य लम्बिएको हो । साना लघुजलविद्युत् बिउरेनी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले भने आयोजनाले अब वैशाख अन्तिम साताभित्र पूर्णता पाउने उनको दाबी छ । उनले भने एक नहर(कुलो)बाट विजुली उत्पादन पनि हुने त्यसैबाट सिँचाइको काम पनि हुने गरी आयोजना निर्माण गरिएको हो । तीन करोड लागतको प्राविधिक स्टिमेटमा निर्माणकार्य थालनी गरिएको बहुउद्देश्यीय आयोजना अढाइ वर्षमा निर्माण कार्यसम्पन्न हुनुपर्ने हो, तर बजेट अभावका कारण अहिलेसम्म लम्बिएको उनको भनाइ छ ।
उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको छ, उनका अनुसार, तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रम अन्तर्गतको २० लाख बजेटबाट विद्युत् र सिँचाइ हुने गरी काम सुरु गरिएको छ ।
सांसद विकास कोषबाट ३० लाख, गैरसरकारी संस्था सूर्य सामाजिक सेवा संघ(फोरएस) जुम्लाबाट २० लाख, पातारासी गाउँपालिकाबाट ७५ लाख बजेट गरी जम्मा एक करोड ४० लाख बजेट जुटाएर काम भएको उपभोक्ता समितिका अध्यक्ष बुढाले जानकारी दिए । यो विद्युत् आयोजनाबाट पातारासी क्षेत्रका तिर्खु लाम्री, डिल्लीचौर जम्न गरी चार गाउँको करिब पाँच सय घरधुरी लाभान्वित हुुने भएका छन् ।
बजेट अभावले ट्रान्समिटर र अन्य केही विद्युत् सामग्री खरिद गर्न बाँकी नै छ । अझै गाउँपालिकाको सहयोगको अपेक्षा निर्माण समितिले गरेको छ । बजेट अपुग भएको खण्डमा थप्ने आश्वासन गाउँपालिकाले दिएअनुसार बाँकी सामग्री खरिदका लागि सहयोग माग्ने निर्माण समितिको तयारी छ ।

विद्युतसँगै सिँचाइ पनि हुने
विद्युत् र सिँचाइका लागि निर्माण गरिएको नहरबाट पाँच हजार रोपनी सिँचाइ हुने भएको छ । विद्युतसँगै सिँचाइ गर्न मिल्ने प्राविधिक स्टिमेटअनुसार निर्माण गरिएको नहरले पातारासीको पाँच हजार रोपनी जमिन सिँचाइ गर्न सहज हुने भएको छ । यहाँको सिँचाइ हुने भएपछि स्थानीयले तरकारी खेती गर्ने लक्ष्य बनाएको वीरबहादुर बोहोराले बताए । विगतमा पानीको अभावले बाँझै रहेका खेतबारीमा पनि अब सिँचाइ सुुविधा पुुग्नेछ ।
उनले भने, विषादीरहित अर्गानिक तरकारी खेती स्थानीय तथा बाहिरी बजारमा लिन्छौ, र सिँचाइको पहुँचमा पुगेपछि कृषि क्षेत्रमा पातारासीका किसानलाई निकै राहत हुने किसान ताराबहादुर बोहोराले बताए । विद्युत्सँगै जमिनमा सिँचाइ गर्न मिल्ने गरी बनाइएको यो नहर जुम्लामै पहिलो हो ।
विगतमा केहीले काली मार्सी धान पनि रोप्ने गरेका थिए । तर धानमा बढी रोग लाग्ने र परिश्रमअनुसारको उत्पादन नहुने भएकाले तरकारी खेतीमा किसानको मोह बढेको हो । तर सिँचाइ अभावले जमिन बाँझै थिए । पातारासी गाउँपालिकाको उर्थुचौतारामा पक्की पुल निर्माण भएपछि यहाँको तरकारी सहजै रूपमा कर्णाली राजमार्ग हुँदै सुर्खेत नेपालगज्ज लगायत राष्ट्रिय बजारमा पु¥याउन सकिने छ । उत्पादनलाई बढवा दिएर सिँचाइ, बीऊ समयमै पु¥याउने गरेको खण्डमा तरकारीबाटै जुम्लाले मनग्य आम्दानी गर्नसक्ने कृषि विज्ञ बालकराम देवकोटाले बताए ।