कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६
389

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गरिने बताएका छन् । निर्माण व्यवसायमा केही विकृति रहेको स्वीकार गर्दै उनले व्यवसायीमाथि मात्रै दोष थुपार्नु पनि सही नभएको बताए । “गल्ती गर्ने कर्मचारीलाई पनि अब कारबाही गरिन्छ,” उनले भने ।
सार्वजनिक खरिद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधनका लागि बुधबार आयोजित राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री महासेठले व्यवसायी मैत्री ऐन नियम ल्याउन सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । नेपाललाई समृद्ध बनाउने दायित्व स्वदेशी निर्माण व्यवसायीकै भएको भन्दै उनले ऐन नियम संशोधन गरेर भए पनि व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । विगतको एकतात्मक शासनकालमा रहेका ऐन तथा नियमावली संशोधन गर्नुपर्ने मन्त्री महासेठको भनाइ थियो ।

व्यवसायीले पाउने पेस्की रकमको दुरूपयोग भइरहेकोतर्फ आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्री महासेठले त्यस्तो रकम व्यवसायीको अधिकार नभई सरकारले दिएको सहुलियत भएकाले सदुपयोग गर्न आग्रह गरे ।
महासंघका मानार्थ सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य जीपछिरिङ लामा शेर्पाले व्यवसायीमैत्री ऐन कानुन ल्याउन सरकारलाई चौतर्फी दवाव आवश्यक भएको धारणा राखे । महासंघका अध्यक्ष रवि सिंहले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्तरूप दिन निर्माण व्यवसायी तयार रहे पनि अहिले अवस्थामा सहज तरिकाले निर्माण कार्य अघि बढाउन धेरै चुनौती रहेको बताए ।
महासंघका सल्लाहकारहरू रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्कीलगायतले अव्यवहारिक ऐन कानुनसँगसँगै असुरक्षा, चन्दा आतंक, निर्माण सामग्रीको अभावलगायतका कारण निर्माण व्यवसाय धराशायी भएको बताए । भेलामा देशभरका ३ सयभन्दा बढी निर्माण व्यवसायी सहभागी थिए ।