दिलबहादुर केसी
बुधवार, बैशाख १८, २०७६
507

चार वर्षअघिको भूकम्पबाट ढलेका विगू गाउँपालिका–३ बुलुङका घरहरू ठडिएका छन् । भूकम्पले ढलेका सम्पूर्ण घर ठडिएसँगै ढलेको सिंगो गाउँ नै उठेको छ ।
भूकम्प गएको चौथो वर्ष पूरा भएकै दिन बुलुङका सात सय १२ निजी घर पुनर्निर्माण सम्पन्न भएको घोषणा गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गाउँमै पुगेर निजी आवास निर्माण सम्पन्न भएको घोषणा गरे । वडा अध्यक्ष राम्जी खड्कालाई समयमै सबै ढलेका घर पुर्न निर्माण पूरा गरेको भन्दै बधाईसहित सम्पन्नताको प्रमाणपत्र समेत दिए ।

दोलखामा सबै घर पुनर्निर्माण भएको बुलुङ दोस्रो गाउँ हो । एक वर्षअघि नै छिमेकी ओराङलाई पनि पुनर्निर्माण पूरा भएको घोषणा गरिएको थियो । घर अहिलो गुनासोबाट सुनुवाइपछि थपिएका घरहरू पुनर्निर्माण भइरहेको छ । विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले ओराङ र बुलुङमा अहिलेसम्म पुनर्निर्माण प्राधिकरणबाट भूकम्पपीडित भनेर प्रमाणित भएकाको घर पुनर्निर्माण पूरा भएको जानकारी दिए ।
बुलुङका घरहरू पुनर्निर्माण प्राधिकरणबाट उपलब्ध नक्साका आधारमा घरहरू बनेका छन् । अब बुलुङबासी टहराबाट आफ्नै घरमा सरेका वडा अध्यक्ष राम्जी खड्काले जानकारी दिए । घर निर्माणको काम पूरा भएकाले अब स्थानीय अन्य आयआर्जन र नियमित काममा फर्कन थालेको बताए ।
ओराङ र बुलुङ दुवै साविकका गाविस हुन् । यहाँको पुनर्निर्माणमा कारितास नेपालनामक गैरसरकारी संस्थाले सहयोग गरेको छ । पुनर्निर्माण प्राधिकरणको समन्वयमा कारितासले राज्यले दिने अनुदानबाहेक ५० हजार रुपैयाँ निजी आवास निर्माण गर्न ढुवानी थप गरेको र निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराएपछि स्थानीयलाई आवास निर्माणमा सहज भएको वडाध्यक्ष खड्काले बताए ।

५० हजार थप अनुदान
बुलुङका लाभग्राहीले सरकारी अनुदान लिएका छैनन् । कारितासले यी गाउँका लाभग्राहीलाई प्राधिकरणको भन्दा ५० हजार थप अनुदान वितरण गरेको छ । प्राधिकरणले पीडितहरूलाई दोस्रो किस्तावापत एक लाख ५० हजार रुपैयाँमात्र वितरण गरेको थियो । कारितासले दोस्रो किस्ता अनुदान वितरण गर्दा सामग्री ढुवानीसमेतको रकम थप गरी दुई लाख रुपैयाँ वितरण गरेको स्थानीयको भनाइ छ ।
बुलुङका लाभग्राहीलाई लक्षित गरी बैंकिङ कारोबार गर्न जिल्लाको उत्तरमा पर्ने मुख्य व्यापारिक केन्द्र सिंगटी बजारमा बैंकिङ कारोबारको व्यवस्था मिलाएको थियो । अनुदानवापतको रकम झिक्न सदरमुकाम आउनु नपरेका कारण पनि समयमै काम सम्पन्न गर्न सहज भएको स्थानीय राजेन्द्र ठकुरीले बताए । सिंगटीमा लक्ष्मी बैंकको शाखासमेत कारितासकै समन्वयमा खोलिएको थियो ।
बुलुङको पुनर्निर्माण सम्पन्न गर्न २९ करोड २५ लाख खर्च भएको कारितास नेपालका जिल्ला संयोजक दलबहादुर शाहीले बताए । सात सय १७ लाभग्राहीमध्ये पाँचजना आवास निर्माण गर्न सम्पर्कमा नआएको उनको भनाइ छ । निजी आवास निर्माण सकिएपछि अब विद्यालय, स्वास्थ्य चौकी बनाउने तयारी रहेको उनले बताए ।