कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६
472

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको त्रिशूली ३ ए आयोजनाको विद्युत् उत्पादनपूर्व गर्नुपर्ने सम्पूर्ण परीक्षण सकिएको हो । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत्गृहमा रहेको टर्बाइनमा झारिन्छ र त्यसबाट जेनेरेटर, कन्ट्रोल प्यानललगायतका उपकरण डिजाइनअनुसार चले÷नचलेको हेरिन्छ । यसमा विद्युत् उत्पादन भने गरिँदैन । सोमबार विद्युत्गृहमा रहेका उपकरणबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

आयोजनाका अनुसार, ३० मेगावाटको पहिलो युनिटको विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणको परीक्षणमा समय लागेकाले व्यावसायिक रूपमा विद्युत् उत्पादन केही ढिलाइ भएको घिसिङले बताए । “विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन सुरु गर्न सक्ने अवस्थामा पुर्याएका छौं, नन्–लोड टेस्टिङ सफलतापूर्वक सम्पन्न भएको छ, अब सुरुङमा रहेको पानी खाली गरेर त्यहाँ चुहावट भए÷नभएको हेरिन्छ,पानी खाली गर्न र भर्न ५÷६ दिन लाग्छ, यसबीचमा अन्य काम पनि समानान्तर रूपमा अगाडि बढ्छन्,” उनले भने, “वैशाखभित्र व्यावसायिक रूपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुनेछ ।”
३० मेगावाटको दोस्रो युनिट असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बंैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)स“ग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो ।
१७ जेठ २०७१ भित्रमा निर्माण सक्ने गरी सिजिजिसीस“ग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि म्याद १६ असार २०७३ (३० जुन २०१६)सम्म थपिएको थियो ।
भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ सम्म थप गरेको थियो । भूकम्प र पहिरोले बा“ध स्थलको दाया“–बाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पु¥याएको थियो । सरकारले पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो ।