कारोबार संवाददाता
मंगलबार, बैशाख १७, २०७६
731

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका जेट विमान उडान भर्ने गरी स्तरवृद्धि गर्न १२ अर्ब ५० करोड लागतको गुरुयोजना (माष्टरप्लान) तयार गरिएको छ । सो विमानस्थलबाट ठूला–ठूला जेट र बोइङ विमानहरू समेत उडाउने लक्ष्यका साथ नागरिक उड्डयन प्राधिकरणले १२ अर्ब ५० करोड लगानीको गुरुयोजना तयार पारेको हो ।
५८ वर्षअघि सञ्चालनमा आएको नेपालगन्ज विमानस्थलको कायापलट हुने गरी पहिलो पटक यति ठूलो लगानीको गुरुयोजना तयार गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जले जनाएको छ ।

आगामी २० बर्षमा नेपालगन्ज विमानस्थलको स्वरुप कस्तो हुन्छ भन्ने कुराको विस्तृत योजना सहित तयार गरिएको गुरुयोजना अनुसार काम अगाडि बढाउन सके विश्वका स्तरीय अन्तर्राष्ट्रिय विमानस्थलको दाँजोमा नेपालगन्ज विमानस्थल तयार हुने नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
प्रमुख ठाकुरका अनुसार गुरुयोजनामा चार चरणमा काम पूरा गरिने उल्लेख गरिएको छ । डिपिआर स्वीकृत भैसकेपछि यसका आधारमा अब बन्ने सबै संरचनाहरू एकीकृत ढंगबाट अगाडि बढ्नेछन् । पहिलो चरणमा दुई वर्षभित्र काम सक्ने गरी १ अर्ब २० करोड लगानीको पूर्वाधार निर्माण गरिनेछ ।
डीपीआरले दोस्रो चरणका लागि सन् २०२५ भित्र थप २ अर्ब ८ करोड लगानीमा विमानस्थल बिस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ । “अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका लागि डीपीआरअनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडानहरू बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ,” प्रमुख ठाकुरले डीपीआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिने जानकारी दिँदै भने ।
तेस्रो र चौथो चरणको कामका लागि भने झन्डै २० वर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ । सन् २०४० सम्म सक्ने गरी काम हुने ठाकुरको भनाई छ । उनले थपे, “थर्ड फेजको कामले नेपालगन्ज विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनेको देखिनेछ ।” प्रमुख ठाकुरका अनुसार, थर्ड फेजमा मात्रै सात अर्ब ४० करोड खर्च हुने अनुमान छ ।
नयाँ योजनाअनुसार, नेपालगन्ज विमानस्थलको रनवे ३ सी क्याटोगरी अर्थात् १ हजार ५ सय २४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा २ हजार ४ सय ४५ मिटर लामो रनवे बनाइनेछ । त्यसो गर्दा एयर बस ३२० एनइओ मोडेलका ठूलो जेट विमानहरू सहजै उडान भर्न सक्ने विमानस्थल तयार हुनेछ ।
राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगन्ज विमानस्थल नयाँ मास्टर प्लानअनुसार, अगाडि बढाउँदा १ सय विगाह जग्गा थप आवश्यक पर्नेछ । हाल १ सय ६६ विगाह क्षेत्रफलमा अवस्थित नेपालगन्ज विमानस्थल १ सय विगाह जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने प्राधिकरणले जनाएको छ ।

पहिलो चरणको विस्तार कार्य सुरु
विमानस्थलको गुरुयोजना अनुसार, काम अगाडि बढाउन ठूलो आर्थिक भार रहे पनि प्राधिकरणले आफ्नै लगानीमा पहिलो चरणको बिस्तार कार्य भने अगाडि बढाइसकेको जनाएको छ ।
रनवेको २ सय मिटर बिस्तार कार्य आगामी आर्थिक वर्षबाट सुरु गरिने जनाउँदै विमानस्थल परिसरमा विभिन्न निर्माण कार्य अगाडि बढिसकेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल प्रमुख ठाकुरले बताए । उनले अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण प्रक्रिया पनि अगाडि बढिसकेको जनाए ।
दैनिक ४० वटा सरदर उडान हुँदै आएको नेपालगन्ज विमानस्थलमा झण्डै १ हजार १ सय यात्रुले दैनिक सुविधा लिँदै आएका छन् । पश्चिम नेपालका पहाडी र हिमाली जिल्लाका हवाई यात्रुका लागि यो विमानस्थल सबैभन्दा बढी महत्वपूर्ण मानिन्छ ।