मनोरञ्जन शर्मा
मंगलबार, बैशाख १७, २०७६
1123

निर्माणााधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनुपर्ने मिति अब दुई महिनाभन्दा पनि कम छ । असार १३ गते (जुन २८) भित्र ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले विमानस्थलका सबै भौतिक निर्माणका काम सम्पन्न गर्नुपर्ने हो । तर, अहिलेसम्मको प्रगति हेर्दा यो दुई महिनामा विमानस्थलको काम नसकिने स्पष्ट भएको छ ।
पछिल्लो समय विमानस्थल निर्माणको काम निकै तीब्र गतिमा अघि बढिरहेको पनि छ । मुख्य पूर्वाधारका रूपमा रहेको धावनमार्गको अन्तिम तहको कालोपत्रे (पिच) गर्ने काम भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ई. प्रवेश अधिकारीले जानकारी दिए । विमानस्थलको मुख्य पाटोको रूपमा रहेको धावनमार्गको करिब ५० प्रतिशत काम सकिएको छ । अब मौसमले साथ दिएमा र अन्य कुनै प्राविधिक समस्या नभए १ महिनाभित्रै धावनमार्गको सबै काम सम्पन्न हुने अधिकारीको भनाइ छ ।

तोकिएको समयमा विमानस्थलको सबै काम सम्पन्न नभए पनि मुख्य संरचनाहरू धावनमार्ग, आगमन तथा प्रस्थान भवन, प्रशासकीय भवन र टावरको संरचना निर्माण सम्पन्न हुनेमा विश्वस्त रहेको अधिकारी बताउँछन् । धावनमार्गको अन्तिम चरणको कालोपत्रे गर्ने काम ५० प्रतिशत सम्पन्न भइसकेको छ भने मुख्य धावनमार्गबाट ट्याक्सी वेमा जाने बाटो पनि निर्माण सम्पन्न भएको छ । एप्रोन (पार्किङस्थल) पनि निर्माण सम्पन्न भएको छ । “अहिले टर्मिनल बिल्डिङ (प्रस्थान एवं आगमन कक्ष) माथि ट्रस (छाना) राख्ने काम भइरहेको र भवनभित्र फिनिसिङ, पेन्टिङ, वायरिङ र नेटवर्किङका कामहरू हुँदैछन्,” अधिकारीले भने । ट्रस जडान पछि रुफिङ सिट राखिनेछ भने ६÷७ तहको रुफिङ सिट हुनेछ । आवाज र तापमान नियन्त्रण गर्ने बस्तु यसमा रहनेछ ।
अधिकारीका अनुसार धावनमार्गको दुवै छेउमा विभिन्न विद्युतीय उपकरणहरूका लागी पाइप राख्ने कामसमेत सम्पन्न भइसकेको छ । धावनमार्ग र ट्याक्सी वेमा विद्युत् उपकरण जडान गर्ने काम धावनमार्ग सम्पन्न भएपछि मात्रै हुनेछ ।
आयोजनाको अबको लक्ष्य भनेको दुई महिनाभित्र कम्तिमा पनि मुख्य संरचनाहरू धावनमार्ग, ट्याक्सी वे, टर्मिनल बिल्डिङ, प्रशासकीय भवन, कन्ट्रोल टावरको निर्माण सम्पन्न गर्नु रहेको उनले बताए ।
अहिले दिनमा मात्रै होइन रातमा पनि काम भइरहेको छ । निर्माण कम्पनीका कामदारहरू दिनरात लागिपरेका छन् । अहिले समस्या भनेको निर्माण सामग्रीमा प्रयोग हुने नदीजन्य वस्तुको हो । नदीजन्य बस्तुको अभाव नहुने र मौसमले साथ दिए काम अहिलेकै गतिमा अघि बढछ । अन्य प्रशासकीय कामहरू आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण)बाट उडानका लागि यो विमानस्थल योग्य रहेको प्रमाणपत्र लिने, हवाई रुटहरूमा सहमति, अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले लिनुपर्ने अनुमति एवं सम्झौता, भारतसँग हवाई रुटमा सहमति र सम्झौताजस्ता मुख्य कामहरू बाँकी रहेका छन् । भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै प्रमाणपत्र लिने, उडानका लागि रुट र सहमति सम्झौता सबै आवश्यक छन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहँदा यो विमानस्थल पनि सोही मितिमा सञ्चालनमा आउने देखिएको छ । भ्रमण वर्षमै विमानस्थल सञ्चालनमा ल्याउनेगरी अहिले काम भइरहेको छ । यद्यपि, नागरिक उड्यन प्राधिकरणले भने २०१९ भित्रै सम्पन्न गरी उडान गर्ने बताउँदै आएको छ । सन् २०१९ का अबका बाँकी ८ महिनामा सबै काम सम्पन्न हुने देखिँदैन् ।

बुटवल उपमहानगरको असहयोग
राष्ट्रिय गौरबको आयोजनाका रूपमा रहेको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागी रूपन्देहीकै स्थानीय तह बुटवल उपमहानगरपालिकाले भने असहयोग गरेको छ । विमानस्थल निर्माण आयोजनाको कार्यालयका अनुसार सम्झौताअनुरूप बुटवल उपमहानगरपालिकाले नदीजन्य निर्माण सामाग्री उपलब्ध गराउन सहयोग गरेको छैन । विमानस्थल निर्माण आयोजनाको कार्यालयका अनुसार उपमहानगरले सम्झौताअनुसार नदीजन्य वस्तु उपलब्ध नगराए केही दिनभित्रै निर्माण कार्य प्रभावित हुनेछ । आयोजनालाई १७ हजार २ सय २८ घन मिटर परिमाणको नदीजन्य निर्माण सामाग्री उपलब्ध गराउने सम्झौता गत चैतमा गरेको थियो ।