कारोबार संवाददाता
मंगलबार, बैशाख १७, २०७६
417

रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ । जंगलमा पर्ने रुख कटानसँगै पाइपलाइन विच्छ्याउने काम ४ किलोमिटर मात्र बाँकी रहेको अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजनाको जानकारी दिएको छ ।
नेपालतर्फ अमलेखगन्जदेखि रक्सोलसम्म ३६.२ किलोमिटर पाइप गाड्नुपर्नेमा अब जंगलक्षेत्रको करिब ४ किलोमिटरको काम मात्रै बाँकी रहेको हो । पाइपलाइन विच्छ्याउने काम सकिएसँगै इन्धन ल्याउने प्रक्रिया अगाडि बढ्ने छ । आगामी असारभित्रै पाइपलाइनबाट इन्धन ल्याउने नेपाल आयल निगमले भनाइ छ ।

भारततर्फको रक्सोलदेखि मोतिहारीसम्मको ३२.७ किलोमिटर पाइप गाड्ने काम भने यसअघि नै सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार अहिले रुख कटान भएका क्षेत्रमा पनि धमाधम काम भइरहेको छ । रुख कटानको काम भइरहेको जंगल क्षेत्रमा ४ किलोमिटरबाहेक अन्य सबै ठाउँमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ ।
गत माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले रुख काट्ने निर्णय गरेपछि त्यस क्षेत्रमा रुख कटानको काम सुरु गरिएको हो । रुख काट्नुपर्ने सिमरादेखि पथलैयासम्मको करिब एक किलोमिटमा पनि पाइप बिछ्याइएको छ ।
पाइपलाइनमार्फत पेट्रोल, डिजेल र मटीतेलको ढुवानी गर्न सकिने भए पनि परियोजना सम्पन्न भएपछि पहिलो चरणमा पाइपलाइनबाट डिजेल मात्रै ल्याइने भएको छ । पाइपलाइनको इन्धन वहाव क्षमता मोतिहारीमा २९४ किलोलिटर प्रतिघण्टा र रक्सोलमा १९१ किलोलिटर प्रतिघण्टा हुने छ ।
नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत वीरगन्ज–रक्सोल नाका हुँदै ट्यांकरमार्फत् भिœयाइने गरेको छ । यसमा ढुवानी लागत बढी पर्दै आएको छ भने चुहावटले गर्दा पनि नोक्सानी हुने गरेको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा चुहावट नियन्त्रण हुनुका साथै इन्धन आयातमा लागिरहेको वार्षिक अर्बौं रूपैयाँ बचत हुने दाबी निगमको छ ।
पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगन्ज डिपोमा ४१ सय लिटरका २ वटा र ३९ सय किलोलिटरका २ वटा गरी ४ वटा ट्यांकी मर्मत गर्ने लक्ष्य राखिएको थियो । जसमध्ये ४१ सय किलोलिटर र ३९ सय किलोलिटर तेल अट्ने क्षमताका १÷१ वटा ट्यांकी मर्मत भइ तयारी अवस्थामा छन् । ती दुई ट्यांकीमा तेल हालेर परीक्षण सुरु गरिएको छ ।
अर्को ४१ सय किलोलिटर क्षमताको ट्यांकी मर्मतको काम अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको ३९ सय किलोलिटरको ट्यांकीलाई पनि खाली गराइएको छ ।