गोपाल पोखरेल
सोमवार, बैशाख १६, २०७६
814

मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा, गाईघाट–कटारी, सिन्धुली–हेटौंडा पूर्वी खण्डको १ सय ३५ किलोमिटर सडक निर्माणको ६० प्रतिशत काम सकिएको छ । यस खण्डको चुहाडे गाईघाट असारी खण्डको १५ किलोमिटर सडक कालोपत्रे भएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत काम सकिने सडक योजनाले जनाएको छ ।
घरटहराहरूको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कायर्, बिद्युत पोल र पुल निमार्ण हुने स्थानहरूमा विवाद भएका कारण गत वर्ष निर्माण कार्यमा केही ढिलाई भएको थियो । तर, चालू आर्थिक वर्षको सुरुवातदेखि नै समयमै सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मदन भण्डारी राजमार्ग पूर्वी खण्ड सडक योजनाले जनाएको छ ।

विद्युत्, वन कार्यालयले बेलैमा रुख कटान, तार स्थातान्तरण गरेमा समयमा सम्पन्न गर्न सकिनेछ मदन भण्डारी राजमार्ग योजना कार्यालय गाईघाटका योजना प्रमुख ललिजन खनालले बताए । पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी राजमार्ग बीचमा चुरे क्षेत्रको बीच भागबाट जाने सडक भएकोले यसले त्यस क्षेत्रको सामाजिक आर्थिक परिवर्तन हुने अपेक्षा राखिएको खनालले बताए । योजना २०७७ जेठ भित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
“भित्री मधेसलाई राजधानीसँग जोडने सबै भन्दा छोटो यो राजमार्ग निर्माणका लागि घरटहराहरूको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निमार्ण हुने स्थानहरूमा हुने विवादहरू समाधान गर्दा केही समय लाग्यो” खनालले भने,“ रकम जम्मा गरेको लामो समय बितिसक्दा पनि अझै बिद्युतले पोल सारिसकेको छैन ।” सिन्धुली खण्डको दुई स्थानको ग्रेड तथा मोड मिलाउन रेखांकन परिवर्तनको स्विकृति भौतिक मन्त्रालयले गरेपनि वन मन्त्रालयबाट बाँकी रहेको उनले बताए ।
“मन्त्रालयले ढिलाई नगरी स्वीकृति उपलब्ध गराइदिने र विद्युत् पोल सारिदिने हो भने अझ तीव्रताका साथ काम अगाडि बढ्छ” योजना प्रमुख खनालले भने,“ निर्धारित समयमै सम्पन्न गर्ने गरी सडक निर्माणको काम तीव्ररुपमा अगाडि बढिरहेकोमा यसले झन थप बल पुग्छ ।” सडक निर्माणको लागि हालसम्म डेढ अर्व रुपैयाँ भुक्तानी भइसकेको र अव २ अर्ब वजेट आवश्यक पर्ने उनले जानकारी दिए ।
सडकको सव ग्रेड, सव वेस, होम पाइम, स्ल्याभ कल्भर्ट, मेसिनरी वाल लगायतका निर्माणका कामहरू धमाधम भईरहेको छ । चुहाडेदेखि इकराहासम्मको करिव १५ किलोमिटर सडक कालोपत्रेसमेत भइसकेको छ । निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरका डिपुटी कन्ट्याक्ट मेनेजर ईन्जिनियर सिताराम दाहालले चालू आर्थिक वर्ष भित्रै चुहाडेदेखि बेल्टारसम्मको सडक कालोपत्रे भइसक्ने बताए ।
राजमार्ग निर्माणपछि प्रदेश न.१ लाई बढी फाईदा पुग्नेछ । १ न. प्रदेशका सर्वसाधारणलाई राजधानी तथा हेटौडा हँुदै अन्य स्थान आवज आजव गर्न सहज हुनेछ । उदयपुरको वेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका हुँदै सिन्धुली जिल्लाको दुधौली र कमलामाई नगरपालिका भएर जाने राजमार्गले हेटौडामा अर्को खण्डलाई छुनेछ । त्यसैले पनि राजमार्ग तोकिएकै सयमा पुरा हुनुपर्ने स्थानीयको माग छ ।
यस खण्डमा पर्ने ४३ ओटा पुल निर्माणको जिम्मा भने कोभेक रसुवा तुदीँ जोइन्ट भेन्चरले ३ अर्ब ८५ करोड ९० लाख ३५ हजार रुपैयाँमा ठेक्का लिई काम गरिरहेको छ । ०७३ कात्तिक २४ गते भएको सम्झौताअनुसार सो कम्पनीले पनि तीन वर्षभित्र पुल निर्माणको काम सक्नुपर्ने सडक योजनाले जनाएको छ ।
२०७३ कात्तिक २२ मा जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरले ७ अर्व ३६ करोड ९९ लाख ८४ हजार रुपैयाँमा सडक निर्माणको सम्झौता गरेको थियो । कम्पनीले उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्र बजारदेखि सिन्धुलीको भिमानसम्म १३५ किलो मिटर सडकमा ११ मिटर फर्मेसन चौडाइ भएको कालोपत्रे सडक निर्माण गर्नेछ ।