विजय देवकोटा
सोमवार, बैशाख १६, २०७६
834

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि भारतबाट निकै ठूलो सहयोगको अपेक्षा राखेका छन् । १५ औं योजनाको आधारपत्रलाई स्वीकृत गर्न आइतबार बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्रीले दक्षिण छिमेकीबाट ठूलो मात्रामा लगानी आउनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “भारतमा नयाँ निर्वाचनबाट बन्ने सरकारका अर्थमन्त्रीले शानदार भाषण गर्नु अनिवार्य छ, नेपालमा नयाँ सहयोग र लगानीको घोषणा नगरि हुँदैन ।” नाकाबन्दीका बेला भारतप्रति निकै असन्तुष्ट देखिएका प्रधानमन्त्री ओलीले पछिल्लो कुटनीतिक सामञ्जस्यताका बीचमा भारतबाट ठूलो मात्रामा लगानीको अपेक्षा गरेका हुन् ।

गत चैत १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलनको सन्दर्भ कोट्याउँदै प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई कति प्रतिबद्धता आयो ? भनी सोधेका थिए । अर्थमन्त्री खतिवडाले २५-२६ खर्ब रूपैयाँ बराबरको लगानी आएको जवाफ दिनेवित्तिकै प्रधानमन्त्री ओलीले त्यो भन्दा बढी नै प्रतिबद्धता आएको समेत दाबी गरे । अर्थमन्त्रीलाई प्रत्युत्तर दिनासाथ भारतीय सहयोगबारे चर्चा गरेका ओलीले भारतमा अब बन्ने सरकारका अर्थमन्त्रीले शानदार बजेट भाषण गर्नुपर्ने र नेपालका लागि नयाँ सहयोग घोषणा नगरी नहुने अवस्था रहेको दाबी गरे ।
१५ औं योजना बनाएको आयोग टीमलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले योजनाको आधारपत्रमा असन्तुष्टि समेत राखे । “योजनामा ठूला आकांक्षा राख्नुपर्छ, अनावश्यक महत्वाकांक्षा पो नराख्ने हो, तर सम्भव आकांक्षा पनि राखिएको छैन,” प्रधानमन्त्री ओलीले भने “परम्परागत ढंगमै योजना बनाउने र आकांक्षा जगाउने खालका काम नभएका हुन् कि !” १४ औं योजनाको समीक्षा गरी १५ औं योजना ल्याउनुपर्ने र नयाँ योजनामा झ्याप्पै ठूला आकांक्षाहरू राख्न उनले आयोगका अधिकारीहरूलाई सुझाए ।
नयाँ योजनामा राष्ट्रिय आकांक्षा र लक्ष्यहरू सरिक गराउनुपर्ने उल्लेख गर्दै राष्ट्रिय योजना आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले १५ औं योजना स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्ने प्रस्तावलाई पारित गराए ।
आयोगले योजनामा वि.सं. २१०० सम्म निरपेक्ष गरिबीलाई शून्यमा झार्ने लक्ष्य राखेकोप्रति पनि प्रधानमन्त्री ओली असन्तुष्ट देखिए । यो लक्ष्य तीन वर्षमै हासिल गर्नुपर्ने तथा अन्य क्षेत्रहरूमा पनि ठूला आकांक्षा राख्न उनले आयोगलाई निर्देशन दिए ।

देशमा कोही भोको छैन
गरिबी र भोकमरीबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले अहिले नेपालमा कोही पनि भोको नरहेको र कसैले पनि भोकै बस्नु प¥यो भन्न नपाईने बताए । अहिले सडकमा थोत्रो कम्बलमा बेरिएर कोही पनि भोको मान्छे नबसकेको दाबी गर्दै अब सडकमा माग्ने मानिसहरू हुननहुने र बाध्यताले कोही पनि मगन्ते हुनुनपर्ने तर्क राखे ।
“तीन वर्षमा नो हंगर ! भोक त एनजीओ-आईएनजीओको धन्दा हो, अब शुन्य भोकमरीको गीत गाउने होईन, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कसैलाई पनि भोकै बस्नुनपर्ने अवस्था सिर्जना गरिन्छ,” प्रधानमन्त्री ओलीले भने ।

‘भारत र बंगलादेशलाई सिमेन्ट बेच्ने हो’
प्रधानमन्त्री ओलीले नेपाल अब सिमेन्टको निर्यातक राष्ट्र बन्ने दाबी गरे । विकास निर्माणमा भारतलाई ठूलो परिमाणमा सिमेन्ट आवश्यक रहेको र त्यो भन्दा पनि बढी मात्रामा बंगलादेशलाई सिमेन्ट चाहिएको दाबी गर्दै प्रधानमन्त्री ओलीले पर्याप्त मात्रामा व्यावसायिक उत्पादन गर्ने र निर्याततर्फ ध्यान दिनुपर्ने बताए ।