कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
307

प्लान इन्टरनेसनल नेपालले वैशाख १२ को भूकम्पपछि शिक्षा, स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा सहयोग गरिरहेको जनाएको छ । पुनर्निर्माणमा सघाउन शिक्षा, स्वास्थ्य, अस्थायी आवास, जीविकोपार्जनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको प्लानले जनाएको छ । प्लान इन्टरनेसनलले भूकम्प प्रभावित जिल्ला दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, काठमाडौं र ललितपुरमा सुरक्षित र भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण, अस्थायी आवासको प्रबन्ध, क्षतिग्रस्त खानेपानी आयोजनाको पुनर्निर्माणमा सहयोग प्रदान गरेको हो ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा प्रभावित जिल्लामा २३ वटा सुरक्षित र अपांगतामैत्री विद्यालय भवन निर्माण भएका छन् । यसबाट विद्यार्थीले भूकम्प प्रतिरोधी र सुरक्षित वातावरणसहितको कक्षाकोठामा पढ्न पाएका छन् । यो अवधिमा भूकम्प प्रभावित क्षेत्रमा १९१ वटा खानेपानीका आयोजना निर्माण भई समुदायलाई हस्तान्तरण भइसकेको छ । खानेपानीको ट्यांकी, पाइप र धारा निर्माण भएपश्चात समुदायले स्वच्छ खानेपानी प्रयोग गर्न पाएका छन् । साथै २१ हजार परिवारले शौचालय निर्माणका लागि सहयोग पाएका छन् । स्थानीय तहसँगको साझेदारीमा दोलखामा एक स्वास्थ्य चौकी निर्माण भएको छ ।

भूकम्पलगत्तै प्रभावित क्षेत्रमा क्रियाशील संस्थाले ५६ हजारभन्दा बढी परिवारलाई अस्थायी र संक्रमणकालीन आवास निर्माणका लागि सामग्री वितरण गरेको थियो । पुनर्निर्माणमा सघाउन पु¥याउन १ हजार ४ सय कामदारलाई सुरक्षित भवन निर्माणसम्बन्धी तालिमसमेत दिएको थियो ।
भूकम्पपछिको प्रतिकार्य र पुनर्लाभ कार्यका लागि संस्थाले नेपाल सरकार, स्थानीय तहसँग साझेदारी गरेको थियो ।