कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
552

विनासकारी भूकम्प, धरहरा पुनर्निर्माण अभियान र धरहरा सम्वत विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनर्निर्माणको कार्य प्रगति तथा धरहराका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुव गजुरेलले धरहरा पुनर्निर्माणका लागि भएका प्रयासका बारेमा प्रकाश पारे ।

आफूले साहित्य लेखनको माध्यमबाट धरहरा निर्माणका लागि करोडांै रकम संकलन गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको माध्यमबाट सरकारलाई बुझाइसकेको पनि उनले जानकारी गराए ।
संसरमा ९ रेक्टर स्केलभन्दा माथिका धेरै पराकम्पबाट नागरिकले ठूलो जनधनको क्षति व्यहोरिसकेको जानकारी गराउँदै उनले नेपालले पनि ७ रेक्टर स्केलका पराकम्पले ठूलै क्षति गराए पनि इतिहासले आफूहरूलाई पाठ सिकाएको उनको भनाइ छ ।
निर्माणाधीन धरहरा भूकम्प प्रतिरोधात्मक र सुरक्षित बन्नुपर्ने भन्दै उनले प्रकाशनमा ल्याएका पुस्तक ‘इतिहासमा २०७२’ र ‘ऋतु’ बाट संकलन भएको सम्पूर्ण रकम पनि धरहरा निर्माणमा लगाउने बताए । धरहरा निर्माणकै लागि आफूहरूले ‘हनुमानको नेपाल यात्रा’ र धरहरा बनाउने देउसी कार्यक्रमको भिडियोबाट पनि केही रकम संकलन गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेकपाका नेता एवं प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले विनाश नै विकासको जननी भएका कारण अब बन्ने धरहरा नमुनाकै रूपमा निर्माण गरिनुपर्ने धारणा राखे ।कार्यक्रममा धरहरा निर्माण कार्यमा लागेका रमन कन्ट्रक्सनका प्रोप्राइटर रमन महतोले निर्माणाधीन धरहराको कार्य प्रगति र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियानमा लागेको बताउँदै उनले सरकारसँगको आधिकारिक सम्झौतापश्चात धरहरा निर्माणकार्यको प्रगति रहेको उनले सुनाए ।
करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको योजनाअनुरुप अबको दुई तीन महिनाभित्र हाल रहँदै आएको गौशारा हुलाकको कार्यालय पनि स्थानान्तरण हुने भएकाले आफूहरूलाई थप मार्गप्रशस्त हुने उनको भनाइ छ ।
प्रस्तावित २२ तले भवनको फाउन्डेसनको कार्य सम्पन्न भइसकेको पनि उनले जानकारी गराए । कुल तीन अर्ब ४५ करोडको लागतमा निर्माण हुने आयोजना अबको दुई वर्षमा सम्पन्न गरिसक्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी गराए ।