कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
427

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको बा“धलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आह्वान गरिएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले जलविद्युत् आयोजनाकोे पहिलो प्याकेजको काम गर्न टेण्डर आह्वान गरेको हो । संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरेपछि बिहीबार तनहुँ हाइड्रोपावरले पुनः अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको हो । बोलपत्र पेस गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएको छ ।

पहिलो चरणअन्तर्गत निर्माण हुने १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माणका लागि निर्माण व्यवसायी छनोट हुनेछ । टेण्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीले दातृ निकाय एडीबीको खरिद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्नुपर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए । “पहिले प्राविधिक प्रस्ताव मूल्यांकन गरी सारभूत रूपमा प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिने छ,” प्रबन्ध–सञ्चालक थिकेले भने, “‘कात्तिकको दोस्रो साता (अक्टोबर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य छ ।” आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बंैक (ईआईबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ ।
तनहुँ हाइड्रोपावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रूपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले सीएमसीसँगको ठेक्का तोडेको थियो ।
आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्भेक्षण तथा डिजाइन गरिरहेको छ ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्भे गरिरहेको अवस्था छ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् ।