कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
429

बैतडीको दोगडाकेदार गाउँपालिकाको विकट वडाको रूपमा चिनिने वडा नं. १ रिम सडक सञ्जालसँग जोडिएको छ । दोगडाकेदार गाउपालिकाको ३३ लाख र प्रदेश सरकारको ४८ लाख लगानीमा सडक विस्तार भएको हो । सोमबार पहिलो पटक डोजर रिमको चमलेकसम्म पुगेपछि स्थानीयले बाजागाजासहित भब्य स्वागत गरेका छन् ।
सडकका कारण विगतदेखि नै कष्टपूर्ण जीवन बिताइरहेका रिमवासी गाउँघरमै सडक पुगेपछि निकै हर्षित छन् । “हामीले पुर्खौंदेखि कष्टकर जीवन बितायौं, अब सडक सञ्जाले जोडिएपछि हामीलाई निकै सहज हुने भएको छ,” स्थानीय लालबहादुर कार्कीले भने । गाउँघरमै सडक पुगेपछि स्थानीय स्रोत साधनको समेत उपयोगमा सहज हुने भएको छ । अघिल्ला सरकारले सडक सञ्जाल विस्तारका लागि पटक–पटक आश्वासन दिने गरेको भए पनि पूरा हुन नसकेको रिमवासीको सडक सपना बल्ला पूरा भएको छ ।
रिमसम्म सडक सञ्जाल विस्तार भएपछि साच्चिकै सिंहदरबार गाउँमै आएको जस्तो अनुभूति भएको स्थानीय नैन सिंह साउदले बताए । रिमसम्म अब गाडी पुग्ने भएपछि घण्टौ लगाएर भारी बोक्नु पर्ने, खच्चरको भर पर्नुपर्ने बाध्यताको समेत हटेको स्थानीय रघुनाथ जोशीको भनाई छ । उनले भने “रिमसम्म सडक पुग्नु रिमवासीका लागि ठूलो सफलता हो, हामी रिमवासी आफूले आफूलाई भाग्यमानी ठान्नुपर्छ ।” रिमलाई सडकले छोए पछि विद्युत्, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि पनि ढोका खुल्ने आशा पलाएको छ ।