कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
360

• केही पुरातात्विक सम्पदाबाहेक २० महिनाभित्र बाँकी सबै काम सम्पन्न हुने प्रधानमन्त्रीको दावी


राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण तोकिएकै समयमा सम्पन्न गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार पुननिर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाले आयोजना गरेको भूकम्पको स्मृति सभालाई सम्बोधन गर्दै पुनर्निर्माणको काम तोकिएको समयमा सम्पन्न गर्न नसक्ने स्वीकार गरेका हुन् । 

प्रधानमन्त्रीले निजी आवास, सरकारी तथा विद्यालय भवन लगायतका संरचना निर्माणको काम सम्पन्न भए पनि केही पुरातात्विक सम्पदाको भने समयमा सम्पन्न गर्न कठिन रहेको बताए । उनले अबको २० महिनाभित्र केही पुरातात्विक सम्पदाबाहेक बाँकी पुनर्निर्माणको काम सम्पन्न हुने दावीसमेत गरे ।प्राधिकरणको तथ्यांकअनुसार अझै धेरै पुरातात्विक सम्पदाहरू निर्माणको चरणमा रहेको छ भने निजी आवासतर्फ अझै ३० प्रतिशत घर पुनर्निर्माण हुन बाँकी छ । प्रधानमन्त्री ओलीले पुरातात्विक सम्पदा निर्माणमा विवाद आउँदा अलमल देखिएको भन्दै सबै मिलेर अगाडि बढ्न आग्रह पनि गरे ।यता, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कहिलेकाहीँ प्राधिकरण र पुरातत्व विभागले अस्वस्थ प्रतिस्पर्धा गर्दा पुरातात्विक सम्पदा पुनर्निर्माणमा ढिलाइ हुने गरेको बताए ।
उनले पुनर्निर्माणको काममा हिलो छ्यापाछ्याप नगर्न आग्रह पनि गरे ।पुरातात्विक सम्पदाहरू पुनर्निर्माणको काममा बारम्बार विवाद आउँदा कतिपय सम्पदाको अझै निर्माण सुरु हुन सकेको छैन । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुर क्षेत्रको काष्ठमण्डप लगायतका विभिन्न मन्दिरहरूको निरीक्षण गरेका छन् । उनले बिहीबार बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको उद्घाटन पनि गरे । सम्पदा पुनर्निर्माणको अवलोकन गरेपछि उनले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिएका छन् । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, अर्थमन्त्री डा. युवराज खतिवडा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर शाक्यलगायतले पनि सम्पदा पुनर्निर्माणको अवलोकन गरेका थिए ।