कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६
550

जलविद्युत् १५ र सौर्य ऊर्जामा ५ अर्ब

जुम्ला-वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको अध्ययनले कर्णालीमा सौर्य ऊर्जा र साना जलविद्युत् आयोजना सञ्चालनबाट विद्युतीकरण गर्न सम्भव रहेको देखाएको छ । तर, यसका लागि २० अर्ब बराबारको बजेट आवश्यक देखिन्छ । राष्ट्रिय योजना आयोगले सन् २०२२ सम्म सबै स्थानीय तहमा ५ सयदेखि १ हजार किलोवाटसम्मको विद्युतीकरण गर्ने योजना बनाएको छ । योजनाअन्तर्गत कर्णालीमा ४३.१३ मेगावाट जलविद्युत् उत्पादन गर्न १५ अर्ब ८२ करोड लागत रहने अनुमान गरिएको छ । तर, ३३ मेगावाट सौर्य ऊर्जाका लागि भने ५ अर्ब ५१ करोड र ०.३ मेगावाट जैविक आयोजनाका लागि ९ करोड ६९ लाख लाग्ने अनुमान केन्द्रका निर्देशक मधुसुदन अधिकारीले बताए । अधिकारीका अनुसार कर्णालीका जलविद्युत्मा प्रतिकिलोवाट ३ लाख ६६ हजार, सौर्य ऊर्जामा प्रतिकिलोवाट १ लाख ६७ हजार र जैविक ऊर्जामा प्रतिकिलोवाट २ लाख ९० हजार लागत लाग्ने अनुमान छ । केही अधुरा आयोजनामा स्थानीय सरकारले पनि सेयर लगानी गरे २०२२ सम्म कुर्नुनपर्ने उनले बताए । कर्णाली उज्यालो गर्नका लागि २० देखि २५ अर्ब भए पुग्ने र यो रकम जलविद्युत् र सौर्य ऊर्जामा लगानी गर्न सकिने उनको भनाइ छ । कर्णालीका अधिकांश जिल्ला विद्युत्को केन्द्रीय प्रसारणलाइनमा नजोडिएका छैनन् । कर्णालीमा साना जलविद्युत् आयोजना प्रभावकारी हुने अधिकारीको भनाइ छ  । जलविद्युत् सम्भावना नभएका ठाउँमा सौर्य ऊर्जा लागतले पनि कम पर्ने र निकै उपयुक्त हुने उनी बताउँछन् । कर्णालीमा विद्युतीकरणका लागि केन्द्रले ४ हजार ४ सय ५ किलोवाट क्षमताको साना जलविद्युत् आयोजनाबाट ४५ हजार घरधुरी विद्युत्को पहुँचमा पुगेको जनाएको छ ।  थप ५ हजार २ सय ९८ किलोवाट क्षमता बराबरका विभिन्न साना जलविद्युत् आयोजना निर्माणका चरणमा छन् । ती सबै आयोजना निर्माण सम्पन्न भएपछि कर्णालीका ४५ हजार २२ घरधुरी लाभान्वित हुने केन्द्रको तथ्यांक छ ।  ती आयोजना आगामी ४ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने केन्द्रको लक्ष्य छ ।  कर्णालीमा ५ सय ७४ किलोवाट क्षमताको वायु सौर्य मिनी ग्रिड परियोजना पनि सञ्चालनमा रहेका छन् ।  जुम्लामा ३, कालिकोटमा २, सुर्खेतमा २, मुगुमा १ र डोल्पामा १ गरी ९ वटा ग्रिड परियोजना सञ्चालनमा रहेको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए । कर्णालीका १० जिल्लामा ७९ वटा स्थानीय तह छन् । सबै स्थानीय तहमा विद्युत्का सम्भावनाहरू प्रचर छन् । तर ती मध्ये पनि ४ वटा स्थानीय तहमा भने पूर्ण विद्युतीकरण भएको छ । त्यसमा जुम्लाको पातारासी गाउँपालिका परेको छ । अन्य ७५ स्थानीय तह भने वैकल्पिक व्यवस्था अपनाउन बाध्य रहेको एक अध्ययनले देखाएको छ । तर, यहाँका जलविद्युत् सम्भावना पनि प्रचुर रहेका छन् । 
गाउँपालिकाद्वारा जलविद्युत्मा सेयर लगानी जुम्लाको पातारासी गाउँपालिकाले स्थानीयको नाममा चुकेनी जलविद्युत् आयोजनामा २ करोड रूपैयाँ लगानी गरेको छ । गाउँपालिकाको वडा नं. १ गढीगाउँमा निर्माण हुन लागेको जलविद्युत् आयोजनामा लगानी गरिएको हो । सबै घरधुरीको नाममा सेयर लगानी गरेको हो । आयोजनाले पातारासी हिमालबाट बग्ने चुकेनी खोलामा ९ सय ९८ किलोवाटको जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ ।गाउँपालिकाले सबै ३ हजार ३ सय २० घरधुरीको नाममा सो आयोजनामा सेयर लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले बताए । त्यसबाहेक गाउँपालिकाकै नाममा पनि १ करोड रूपैयाँको सेयर खरिद गरिएको छ । भने गाउँपालिकाका १ हजार १ सय स्थानीयले व्यक्तिगत रूपमा ९० लाख रुपैयाँ सेयर लगानी गरेको चुकेनी खोला विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर रावतले बताए ।आयोजनामा केन्द्रले पनि लगानी गर्ने अध्यक्ष रावतले जानकारी दिए । उनले केन्द्रको २८ करोड ४४ लाख ३० हजार र थप बजेट अनुदान १८ लाख २८ हजार स्वीकृत भई बजेट सिलिङको पत्रसमेत प्राप्त भइसकेको बताए । यसैगरी कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पनि १ करोड रकम विनियोजन भएको छ । यस्तै आयोजना निर्माणका लागि एसियाली विकास बैंकले पनि ३ करोड रूपैयाँ ऋण उपलब्ध गराउने भएको छ । २०६९ वैशाखमै आयोजना निर्माण सुरु गरिए पनि लगानी अभावमा चुकेनी जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । लगानी जुटेपछि अहिले टेन्डर प्रक्रिया अगाडि बढिसकेका छौं । गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले भने अब निर्माणले गतिले बताए ।   
९५ प्रतिशत घरधुरीमा दाउराकै भर २२ प्रतिशत घरधुरीले आधुनिक ऊर्जा प्रयोग गर्दै आएको कर्णालीका ९५ प्रतिशत घरधुरी खाना पकाउन भने अहिले पनि परम्परागत दाउरामा निर्भर छन् । समय फड्को मारिसक्दा पनि यहाँका ९५ प्रतिशत नागरिक दैनिक धुलो धुवाँबाट रोगी बन्दै गएका छन् । स्रोत अभावका बीच पनि लगानी अभावले गर्दा कर्णालीका ग्रामीण बस्तीहरूमा उज्यालो पुग्न सकेको छैन् । कर्णालीमा परम्परागत दाउराको प्रयोग अहिले पनि अत्यधिक छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार सबै ठाउँमा विद्युतीकरणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कर्णालीमा शिक्षा र स्वास्थ्यका लागि उज्यालो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । त्यसका लागि हरेक बस्ती ऊर्जा बस्तीको अवधारणमा काम भइरहेको उनले बताए ।