कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
567

बुद्ध पावर कम्पनीले मुस्ताङमा निर्माण गरेको तीन किलोवाटको उन्नत वायु तथा सौर्य ऊर्जा (सोलार) सहित अनलाइन मौसम मापन केन्द्र सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाली र स्पेनिस नागरिकले संयुक्त रूपमा स्थापना गरेको कम्पनीले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष राफेल भिनास पिचले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरे । सो अवसरमा कम्पनीले मुस्याङ उपत्यकाको दिगो र हरित ऊर्जा विकाससम्बन्धी अध्ययन प्रतिवेदन पनि मन्त्रीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्री पुनले हस्तान्तरणका लागि धन्यावाद दिँदै यस्ता प्रविधिको आधारमा ऊर्जा विकास गर्न सरकार अग्रसर हुने बताए ।

मर्मत सम्भारसहित ७६ लाख लगानी गरेर १८ महिनादेखि सञ्चालनमा ल्याइएका ऊर्जा केन्द्र र मापन केन्द्र हस्तान्तरणसँगै सरकारले सञ्चालन गर्ने कम्पनीका सञ्चालक पुष्प तिमल्सिनाले जानकारी दिए । उनका अनुसार, केन्द्रले मुस्याङ उपत्यकाको मौसमसम्बन्धी जानकारी हरेक १० मिनेटमा अनलाइनमार्फत दिन्छ । “नमुना रूपमा निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेका छौं, अब सरकारले सञ्चालन गर्छ, अहिले नमुनामात्र हो, यस प्रविधिलाई अपनाएर धेरै क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ,” उनले भने । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सो वायु तथा सौर्य ऊर्जा केन्द्र १८ महिनाअघि नै सम्पन्न भएको थियो । १८ महिनाको परीक्षण अवधिमा कुनै समस्या नआएको र पूर्ण क्षमतामा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालका अरु थप १० दुर्गम जिल्लामा १० वटा अनलाइन मौसम मापन केन्द्र बनाउन लागेको तथा कम्पनीले तयार पारेको प्रतिवेदनले १२ महिनामा नेपालका हिमाली दुर्गम जिल्लामा ठूला उन्नत वायु तथा सौर्य एवं भौगर्भिक ऊर्जा उत्पादन गर्न सकिने देखिएको जनाएको छ ।