कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
471

उदयपुर-भौतिक पूर्वाधारका हिसाबले विकट मानिने त्रियुगा नगरपालिका–५ र ६ लाई जोड्ने सुविधा सम्पन्न सडक निर्माण हुने भएको छ । प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निर्माण थालिएको हो ।
त्रियुगा नगरपालिका–५ को दमौतीबाट बुर्जाकान्ला लालपत्ता र घनचक्रे जोड्ने २० किमि लामो कालोपत्रे सहितको सडक निर्माणका लागि ४० करोड रुपैयाँ इस्टिमेट प्रदेश सरकारले तयार गरेको छ । यो सडक निर्माण भएपछि त्यस क्षेत्रका करिब २० हजार जनसंख्या लाभान्वित हुनेछन् ।

“प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत चालू आवमा १ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ,” प्रदेश सांसद हिमाल कार्कीले भने, “चालू आवको बजेटले त्रियुगा नगरपालिका–५ को दमौतीबाट बुर्जाकान्ला लालपत्ता र घनचक्रे जोड्ने सडकमा माटो कटिङ, फिलिङ र सडक ट्रयाक निर्माणकार्य हुनेछ ।” यो वर्ष निर्माण थालिएको सडक निर्माणको काम आगामी तीन वर्षभित्र सम्पन्न हुने उनले बताए ।
“सदरमुकाम गाईघाटबाट करिब १५ किमिको दूरीमा रहे पनि दमौतीमा सडक पूर्वाधारको व्यवस्था नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन्,” स्थानीय हरिबहादुर राउतले भने, “सडक निर्माणकार्य सुरु भएपछि यहाँका सर्वसाधारणले खुसी भएका छन् ।”
सडक निर्माण कार्यको थालनी गर्दै प्रदेश सांसद हिमाल कार्कीले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेकाले तीन वर्षभित्र सडक निर्माण भइसक्ने बताए । “नगरपालिकाका नागरिक भएर पनि यहाँका सर्वसाधारणले सडक यातायातमा ठूलो असुविधा भोग्नु परिरहेको छ,” उनले भने, “तर अब विस्तारै यो समस्या समाधान हुँदै जानेछ ।”