अनुपमा खनाल
मंगलबार, बैशाख १०, २०७६
816

लाप्राकको गुप्सीपाखामा एकीकृत नमुना बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपीडित लाप्राकवासीका लागि निर्माण गर्दै गरेको ५ सय ७३ घर अन्तिम चरणमा पुगेको हो । हालसम्म चार सय ५० घरको छानो छाईसकेको एनआरएनएका साईट इन्चार्ज लक्ष्मण अर्यालले जानकारी दिए । “सबै घरमा ट्रस हालिसकेका छौं, सबै घरमा पहिलो तलाको काम सकियो भने दोस्रो तलाको पनि ८५ प्रतिशत काम पूरा भएको छ,” उनले भने । आन्तरिक रूपमा केही काम बाँकी रहेको उनको भनाइ छ । “४७५ घरमा रंग लगाइसकेका छौं भने तल्लामा काठ छाप्ने काम बाँकी छ । घरमा झ्यालढोका राख्ने क्रम पनि सुरु भएको छ,” साइट इन्चार्ज अर्यालले भने ।
एकीकृत बस्ती निर्माणमा १६० जना नेपाली सेनासहित ४५० कामदार परिचालन भएका छन् । गुप्सीपाखाको १८.३ हेक्टर जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण गरिएको हो । २०७३ माघमा बस्ती शिलान्यासका क्रममा एनआरएनका तात्कालीन अध्यक्ष शेष घलेले एक वर्षभित्र लाप्राकवासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता गरेका थिए । तर, २०७४ असोजसम्म काम नसकेपछि एक वर्षको समय थपिएको थियो । असोजमा पनि निर्माण नसकिएपछि घर हस्तान्तरणका लागि वैशाख १२ गतेको म्याद राखिएको थियो । यद्यपि, यो मितिमा पनि बस्तीको सबै संरचना निर्माण नहुने देखिएको छ । स्थानीयले आफ्नो जिम्मेवारीमा परेको निर्माण सामग्री समयमा नै उपलब्ध नगराउँदा घर निर्माण ढिलाइ भएको एनआरएनएका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले बताए । “सम्झौताअनुसार स्थानीयले प्रतिघर गिटी ४० बोरा, ढुंगा ८ ट्रयाक्टर र काठ ५३ क्युफिट उपलब्ध गराउनुपर्ने हो,” उनले भने, “दिनुपर्ने निर्माण सामग्री सबैले बुझाएका छैनन्, यसले पनि ढिलाइ भएको छ ।” मौसमी प्रतिकुलता तथा निर्माण सामग्री ढुवानीमा असहजताका कारण तोकिएको समयमा घर निर्माण गर्न नसकेको उनले बताए ।

स्थानीयले काठ दिन ढिलो गरेपछि प्रतिघर ५ क्युफिट काठ एनआरएनएले नै व्यवस्थापन गरेर निर्माण कार्य अगाडि बढाएको साइट इञ्चार्ज अर्यालले बताए । “अब एउटा घरलाई ४८ क्युफिट काठ चाहिन्छ, स्थानीयले वनबाट सडकसम्म झारेपछि ढुवानी गरेर फिटिङ हामीले नै गर्नेछौं,” उनले भने । नमूना बस्तीको घरमा पीभीसीको झ्यालढोका प्रयोग गरिएको छ । तर यसमा गाउँले असन्तुष्ट रहेका स्थानीय मारसिंह गुरुङले बताए । “ प्लास्टिकको पातलो झ्यालढोका छ, एक लात्ता हान्दैमा जाने जस्तो छ, यस्तो झ्यालढोकाले घरको सुरक्षा कसरी हुन्छ ?” उनले भने ।
नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनाइएको छ । लाप्राक नमुना बस्ती गुरुयोजनाअनुसार सबै एकै प्रकारका २ तले ४ कोठे घर बनाइएको छ । पहिलो तलामा सिमेन्ट, इँटा र बालुवाको प्रयोगले बनाइएको छ भने दोस्रो तल्लामा एसी ब्लक प्रयोग गरिएको छ । ट्रस हालेर पीभीसी पाताले छाइएको छ । प्रत्येक घरमा शौचालय तथा सडक निर्माणको काम सुरु गर्ने परियोजनाका प्रोजेक्ट म्यानेजर सुवास अधिकारीले जानकारी दिए । “हामीले ५ सय मानिस अट्ने सामुदायिक भवन पनि निर्माण गर्ने तयारी गर्दैछौं, अब हाम्रो टिम करीब २ महिनामात्रै यहाँ रहन्छ,” अधिकारीले भने । स्थानीयको श्रमदानसमेत गरी प्रतिघर लागत १२ लाख रुपैयाँ रहेको एनआरएनएले जनाएको छ ।