कृञ्जला पुलामी
शुक्रवार, बैशाख ६, २०७६
542

महिला वा पुरुषलाई लिंंगकै आधारमा कुनै पनि कुरामा विभेद गर्नु हुँदैन । सबैलाई समान अवसर दिइनुपर्छ भन्ने कुरा रणनीतिक योजनामा समेटिएको छ । जसले समतामूलक समाज निर्माणमा सघाउ पु-याउने अपेक्षा गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिकाले लैंगिकमैंत्री नगर बनाउन विभिन्न प्रयास थालेको छ । महिलाका विषयलाई प्राथमिकतामा राखेर विभिन्न योजना तथा कार्यक्रम गरिरहेको छ ।
महिलाको नेतृत्वमा विकास निर्माणका कार्य भइरहेका छन् भने सीप र उत्पादनमा पनि महिला सहभागितालाई मध्यनजर गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आउनुअघि विकास निर्माणका काममा महिला सहभागीता शून्यजस्तै भए पनि अहिले भने जुनसुकै कार्यमा महिलालाई अघि सार्ने गरिएको छ ।

नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको नेतृत्वमा नगर क्षेत्रभित्र देखिएका समग्र लैंगिक असमानतालाई मध्यनजर गर्दै त्यसको व्यवस्थापन गर्न रणनीतिक योजना तयार गरेको छ । महिला हिंसा, असमानता, विभेदलगायतका विषयले महिलाको अवस्थाको मूल्यांकन गरी रणनीति बनाइएको देवकोटाले बताइन् ।
विषय विशेषज्ञ तथा महिला अधिकारकर्मी डा.रेणु अधिकारीको सहयोगमा कार्यदलले विभिन्न चरणमा सरोकारवालासँग गरेको छलफलका आधारमा रणनीति बनाइएको कमलामाई नगरपालिकाकी उपप्रमुख देवकोटाले बताइन् । महिला र पुरुषलाई हेर्ने दृष्टिकोण एउटै हुनुपर्छ । क्षमताका आधारमा समान अवसर दिइनुपर्छ भन्ने महसुस गरेर समतामूलक समाज निर्माणका लागि रणनीतिक योजना बनाएको उनको भनाइ छ ।
महिला वा पुरुषलाई लिंंगकै आधारमा कुनै पनि कुरामा विभेद गर्नु हुँदैन । सबैलाई समान अवसर दिइनुपर्छ भन्ने कुरा रणनीतिक योजनामा समेटिएको छ । जसले समतामूलक समाज निर्माणमा सघाउ पु-याउने अपेक्षा गरिएको छ । यो योजना कार्यान्वयनका लागि गैरसरकारी संस्था ओरेक नेपालले पनि सहयोग गर्छु भन्ने प्रतिबद्धता आएको छ । उनले भनिन्, “अहिले योजना अध्ययनको क्रममा रहेको छ । प्रमुखज्यूले अनुमोदन गरेपछि त्यसलाई अभियानकै रूपमा सञ्चालन गर्दैछौं ।”
नगरक्षेत्रका महिलाले लैंगिकताकै आधारमा परिवारदेखि कार्यक्षेत्र, अध्ययन क्षेत्रलगायतका ठाउँमा अपमानित हुनुपरेको बताउँदै मानसिक, शारीरिक हिंसा भोगिरहेको उनले बताइन् । त्यसैले महिलालाई शिक्षा, स्वास्थ्य, रोजगार तथा आत्मनिर्भर बनाउन र कानुनी ज्ञान तथा सचेतना जगाउन कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
सेफ हाउस सञ्चालन गरिँदै
नगरपालिकाले महिलाको न्यायमा पहुँच अभिवृद्धिका गर्ने उद्देश्यले सेफ हाउस सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाको चालू आवको कुल ३१ लाख रुपैयाँ लागतमा सेफ हाउस निर्माण गर्ने काम सुरु भइसकेको नगरपालिकाकी उपप्रमुख देवकोटाले बताइन् ।
यही आवभित्र सेफ हाउसका लागि भवन निर्माणको थालनी गरिने देवकोटाले बताइन् । “हामीले ठाउँ पनि निश्चित गरिसकेका छौँ,” उनले भनिन्, “वडा नम्बर ७ मा भवन निर्माण हुनेछ । यो वर्ष बजेट र समयै दुवैले भ्याइँदैन । अहिले हाम्रो लक्ष्य भनेको डीपीसि तह सक्ने हो । अर्काे वर्ष थप बजेट छुट्याएर काम अगाडि बढाइने छ ।”
हिंसामा परेका महिलाको कुरा सुन्न र उनीहरूलाई सुरक्षित वातावरणमा राख्न सो भवन निर्माण गर्न लागिएको देवकोटाले बताइन् । सेफहाउस सञ्चालनपछि जिल्लाभरिका महिलाको न्यायमा पहुँच पुग्ने उनले अपेक्षा गरेकी छन् ।
जिल्लामा अहिले एक गैरसरकारी संस्थाले सेफ हाउस सञ्चालन गरिरहेको छ । अहिले सञ्चालनमा रहेको सेफ हाउसमा पर्याप्त ठाउँ नभएकाले पनि हिंसामा परेका महिलाको कुरा सुन्न र उनीहरूलाई सुरक्षित वातावरणमा राख्न सो भवन प्रभावकारी हुने उनले बताइन् ।