कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६
441

खानेपानीमन्त्री बिना मगरले मेलम्चीको समस्या अब धेरै समय बाँकी नरहने बताएकी छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४औं वार्षिकोत्सव समारोह उद्घाटन गर्दै खानेपानीमन्त्री मगरले मेलम्चीको समस्या अब धेरै समय नरहने बताएकी हुन् ।
उनले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताएकी छन् । “काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन, यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ,” उनले भनिन्, “यसका लागि मन्त्रालयअन्तर्गतको बोर्ड, केयूकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) लगायतका निकाय लागिरहेका छन् ।”

जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधनसहित खानेपानीको पहुँच पु¥याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उनले बताइन् । भ्याली बोर्डले गरेको कामप्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन दिएकी छन् ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधनसहितको उच्च र मध्यमस्तरको खानेपानी सेवा ९० प्रतिशत पु¥याउन सरकार लागिरहेको जानकारी दिएका छन् । “उच्च र मध्यमस्तरको खानेपानीको सेवा २० प्रतिशतले मात्रै पाइरहेका छन्, दिगो विकासका लक्ष्यहरू पूरा गर्नुपर्ने दायित्व हामीसँग छ,” उनले भने, “९० प्रतिशत जनतालाई प्रशोधनसहित खानेपानीको पहुँच पु¥याउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।”
भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरुयोजना बनाइरहेको जानकारी दिए । उपत्यकाभित्र रहेका पोखरी, ढुंगेधारा र तालतलैयाको संरक्षण र संवद्र्धनका लागि बोर्ड योजना बनाएर अघि बढिरहेको सहसचिव भट्टले बताए ।