केशव समर्पण
बिहिवार, बैशाख ५, २०७६
355

कर्मचारी अभाव, भौगोलिक विकटता जस्ता कारणले बजेट खर्चमा समस्या भएको स्थानीय तहको गुनासो छ ।

हेटौंडा-मकवानपुरका स्थानीय तहले साना र कम लागतका धेरै योजना बनाएर बजेट बाँडेका कारण पुँजीगत र भौतिक प्रगति न्यून भएको पाइएको छ । स्थानीय तहहरूले सयौं योजनामा ५० हजारदेखि २ लाख रूपैयाँसम्म विनियोजन गरेका छन् ।
चालू आबको ८ महिनाको अवधिमा मकवानपुरका १० वटा स्थानीय तहमा समग्रमा ४२ प्रतिशत बजेट खर्च भएको पाइएको छ । स्थानीय तहले सानो–सानो योजनामा पनि बजेट छरेका कारण पुँजीगत तथा भौतिक प्रगति निकै न्यून भएको पाइएको स्थानीय तहको अनुगमनकर्ता जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । मकवानपुरका दशवटै स्थानीय तहको अनुगमन गर्दा सबै स्थानीय तहले साना आयोजनामा बजेट खर्च गरेको पाइएको उनले बताए । मकवानपुरगढी गाउँपालिकामा मात्र यसवर्ष स्थानीय तहमार्फत ६ सय ५८ वटा आयोजना सञ्चालनमा छन् । यस्तै हेटौंडा उपमहानगरपालिकामा पनि ६ सयभन्दा बढी योजना चालू अवस्थामा छन् ।

मनहरी गाउँपालिकाले ४ सय ६३ वटा, बकैया गाउँपालिकाले ४ सय वटा, बागमती गाउँपालिकाले ३ सय १७ वटा, राक्सिराङ गाउँपालिकाले ४ सय १, ईन्द्रसरोवर गाउँपालिकामा २ सय ९४, कैलाश गाउँपालिकाले ६ सय २२, भीमफेदी गाउँपालिकाले ४ सय ८५ वटा योजना सञ्चालनमा छन् । जसमध्ये अधिकांश योजना ५० हजारदेखि २ लाखसम्मको रहेको पाइएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । थाहा नगरपालिकाले भने ५ लाख भन्दा बढी बजेटका एकसय १ वटा योजना कार्यान्वयन गरिरहे पनि अन्यमा भने साना योजना नै बढी छन् ।
मकवानपुरका स्थानीय तहको समग्र बजेट खर्चको अवस्थामा ४२ प्रतिशत रहे पनि कुनै स्थानीय तहले १४ र कुनैले ५० प्रतिशतभन्दा माथि खर्च गरेको पाइएको छ । स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा ६५ प्रतिशत र थोरै इन्द्रसरोवर गाउँपालिकाले १४ प्रतिशत बजेट खर्च गर्न सकेका छन् । चालू आबको ८ महिनाको अवधिमा थाहा नगरपालिकामा ५२ प्रतिशत, भीमफेदी गाउँपालिकामा ४३ प्रतिशत, मनहरी गाउँपालिकामा ३८ प्रतिशत, मकवानपुरगढी गाउँपालिकामा ३८ प्रतिशत, बकैया गाउँपालिकामा ३३ प्रतिशत बजेट खर्च भएको स्थानीय तहले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यस्तै यो अवधिमा राक्सिराङ गाउँपालिकामा ३० प्रतिशत र कैलाश गाउँपालिकामा १५ प्रतिशत बजेट खर्च भएको छ । कर्मचारी अभाव, भौगोलिक विकटता जस्ता कारणले बजेट खर्चमा समस्या भएको स्थानीय तहको गुनासो छ ।
जिल्ला समन्वय समिति मकवानपुरले गरेको अनुगमनको क्रममा कर्मचारीकै समस्याका कारण धेरै काम रोकिएको पाइएको समिति मकवानपुरका प्रमुख खुलालले बताए । यस्तै अनुगमनको क्रममा केही स्थानीय तहमा सीमा विवाद, खानी उत्खनन्को समस्या जस्ता समस्या देखिएको पनि खुलालले बताए ।