अनिश शर्मा गैरे
बिहिवार, बैशाख ५, २०७६
518

गुल्मी-मुसिकोट नगरपालिका–७ वामी र वडा–३ बडागाँउ जोड्ने झेंदीमा निर्माणाधीन बडिगाड खोलामाथि भत्किएको पुलको विज्ञ टोलीले अध्ययन गरेको छ ।
गत वर्ष असार २७ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सो पुल आइतबार निर्माणकै क्रममा भत्किएको थियो । शनिबारबाट ढलानको काम सुरु गरिएको सो पुल ढलान सुरु भएको अर्काे दिन नै भत्किँदा चर्चाको विषय बनेको छ ।
कुल पाँच करोड १७ लाख ८४ हजार रुपैयाँमा ५८ मिटर लम्बाइ, ७.२ मिटर चौडाइ, ८.५ मिटर उचाइ रहेको प्रि स्ट्रेस पुल ढलान हुने क्रममै आइतबार मध्यभागबाट नै भत्किएको थियो । निर्माण हँुदै गरेको पुल भाँचिएपछि स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी) को विज्ञसहितको टोली अनुसन्धानका लागि आएका हुन् । यसरी बीचमै पुल भत्किएपछि के कसरी र किन भाँचियो ? भन्नेबारे अनुसन्धानका लागि विज्ञसहितको टोली गुल्मी आएकोे पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर विनोद चौधरीले जानकारी दिए । उनका अनुसार टोलीले केही दिनपछि रिपोर्ट दिने जानकारी दिए । उनका अनुसार पुलको सपोर्ट पूर्णरूपमा नपुगेका कारण भत्किएको हुनसक्ने बताए ।

पानीको मात्रा बढेकाले भत्कियो : इन्जिनियर
शनिबार र आइतबार बागलुङ साइडमा अत्यधिक पानी परेको थियो । पुल ढलान गर्ने क्रममा पर्याप्त मात्रामा टेका नभएको र खोलामा पानीको मात्रा बढेका कारण पुल भात्किएको हुनसक्ने अनुमान गरिएको पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर चौधरीले बताए । “हामीले प्रारम्भिक रूपमा पर्याप्त टेका नपुगेका कारण र खोलामा पानीको बहाब बढेका कारण हो कि भन्ने अनुमान गरेका छौं, विस्तृत विवरण विज्ञसहितको टोलीले पठाएको रिपोर्टबाट थाहा होला,” उनले भने । आइतबार पुल भत्किएकै दिन दरमखोलामा आएको बाढी बडिगाड नदीमा मिसिँदा सो पुलको छेउछाउको भाग पनि भत्किएको छ भने पुल निर्माणमा प्रयोग भएका सामग्री पनि बगाएको छ ।

प्राविधिक गल्ती भएको नगरप्रमुखको दाबी
मुसिकोट नगरपालिका गुल्मीका नगर प्रमुख सोमनाथ सापकोटाले भने डिजाइन गर्ने प्राविधिककै कमजोरी भएको आरोप लगाए । उनका अनुसार पुलको निर्माण चरणदेखि नै आफूहरूले डिजाइन ठाउँअनुसारको नभएको भन्दै सम्बन्धित पक्षसँग भने तापनि उनीहरूले नसुनेको, बीचमा आएर डिजाइन नै परिवर्तन गरेको, बीचमा पिल्लर नराखेको, निर्माणमा समेत उचित ध्यान नदिएकै कारण हाल आएर यस्तो परिणाम भोग्नुपरेको बताए ।
पुल भत्किँदा निर्माण व्यवसायी चितवन चैनपुरका ऋषिराम इटनीसहित ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाका अनुसार घाइते हुनेमा निर्माण व्यवसायी ५२ वर्षीय ऋषिराम इटनी, मुसिकोट नगरपालिका–३ का २३ वर्षीय रामबहादुर कुमाल, सोही वडाकै ३३ वर्षीय गणेश कुमाल, ५१ वर्षीय रुद्रबहादुर कार्की, बागलुङ जिल्ला बडिगाड गाउँपालिका–७ का २७ वर्षीय तुलबहादुर राना छन् । घाइतेमध्ये निर्माण व्यवसायी इटनीको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरूको विभिन्न ठाँउमा उपचार भइरहेको छ । स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी) अन्तर्गत बनाइएको निर्माणको अवधि सकिए पनि म्याद थप नगरेको पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ ।
केही वर्षअघि बडिगाड नदीमा आएको बाढीले झेँदीमा रहेको झोलुंगे पुलमा क्षति पुगेपछि पुल बांगो भएको थियो भने आवतजावत गर्न जोखिम थियो । एकाएक पुल भत्किनु यस क्षेत्रका बासिन्दाको दुर्भाग्य भएको स्थानीयको भनाइ छ । यो घटनाले यो क्षेत्रलाइ केही वर्षपछि धकेलेको स्थानीयको भनाइ छ ।