कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
491

ओखलढुंगा-बजेट निकासा रोकिएपछि जिल्लाभित्र सञ्चालित दर्जनौं बहुवर्षीय योजना अलपत्र अवस्थामा छन् । ठेक्कामार्फत कार्यान्वयन थालिएका त्यस्ता योजनाको बजेट निकासा नहुँदा निर्माणको काम अधुरै छ । ठेकेदारले भुक्तानी पाउने नपाउने निश्चित नहुँदा काम गर्न नसकेको बताउँदै आएका छन् ।
अघिल्ला आर्थिक वर्षमा संघीय सरकारले बहुवर्षीय योजना ठेक्का लगाएको थियो । सरकारले थालेका आयोजना गत वर्ष नै बजेट अर्थ मन्त्रालयले प्रदेश सरकारलाई पठाइसकेको बताए पनि निकासा नआउँदा चालू वर्षमा ती आयोजनाको काम रोकिएको हो । हर्कपुर सडक डिभिजन कार्यालयअन्तर्गत ठेक्का लागेका एक दर्जन आयोजनाको काम एक वर्षदेखि अलपत्र छ ।

त्यस्ता आयोजना प्रदेश सरकार कि संघीय कसले हेर्ने भन्ने विवादका कारण आयोजना अलपत्र परेका हुन् । प्रदेश सरकारले त्यस्ता आयोजना सञ्चालन गर्न पाउनु पर्ने माग गरे पनि संघले हस्तान्तरण नगर्दा मोलुङ करिडोर, लिखु करिडोर, दूधकोसी करिडोरजस्ता महत्वपूर्ण योजना प्रभावित भएका छन्  । “संघ र प्रदेश कसले सञ्चालन गर्ने भन्ने विवादले भइरहेका काम एकाएक रोकिए,” ओखलढुंगाका संघीय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले भने, “यस्तो अन्योलता तत्काल हटाएर काम सुचारु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।”
अर्थ मन्त्रालयले प्रदेश सरकारलाई बजेट पठाएकाले अब ती योजना प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने पत्र विभागले सम्बन्धित डिभिजन कार्यालयलाई पठाए पनि कार्यान्वयन भएको छैन  । पहिले केन्द्र सरकारअन्तर्गत रहेका सबै ठेक्काअन्तर्गतका योजना प्रदेश सरकारलाई हस्तान्तरण गर्नु भनेर केन्द्रबाट परिपत्र आएको हर्कपुर सडक डिभिजन प्रमुख विजय थापाले बताए । उनले भने, “हामीले सोही पत्राअनुसार प्रदेश सरकारलाई पत्राचार गरेका छौं ।”
हस्तान्तरण प्रक्रिया पूरा भएपछि प्रदेश सरकार मातहत बजेट फुकुवा हुने भनिए पनि अझै हुन सकेको छैन । केन्द्र र प्रदेश सरकारको अधिकार विवादले गर्दा विकास प्रभावित भएको स्थानीयको गुनासो छ ।