कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
589

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ को अमिलिखर्कबाट खोटाङ जिल्लाको धाप्लाङसम्म जोड्ने ४२ किलोमिटर सडक निर्माण हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेश सरकारको लगानीमा सडक निर्माण हुन लागेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ को अमिलिखर्कबाट खोटाङ जिल्लाको धाप्लाङसम्म जोड्ने ४२ किलोमिटर सडक निर्माण हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेश सरकारको लगानीमा सडक निर्माण हुन लागेको हो । मंगलबार सडक निर्माणको शिलान्यास गर्दै प्रदेश सांसद विमल कार्कीले ७ मिटर चौडाइ रहने उक्त सडकको चालू आवभित्रै ५ किमि काम सम्पन्न हुने बताए । “बाँकी काम तीन वर्षभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको छ,” उनले भने, “प्रदेशको नयाँ संरचना, अख्तियारीमा ढिलाइ, केही काममै अवरोधका कारण ढिला भयो, बाँकी वर्षलाई अब सहज हुन्छ ।” समय ढिला भएका कारण यो वर्ष ९१ लाख ७५ हजार ७ सय २२ रुपैयाँ बराबरको काम हुने सांसद कार्कीले जानकारी दिए । चालू आवमा ५ किमि सडक विस्तार गर्ने कामको जिम्मा स्वामी नारायण÷राउत ज्वइन्ट भेन्चरले लिएको छ । प्रदेश सरकारले यही सडकलाई आगामी वर्ष २ नम्बर प्रदेशअन्तर्गतको सप्तरी जिल्लाको महुलीसम्म (अन्तरप्रदेश) जोड्ने योजना बनाएको कार्कीको भनाइ छ । “योसँगै शिवनगर फत्तेपुर १९ किमि र लालबजार घारेघाट भोजपुर जोड्ने १७ किमि सडकको काम पनि चालू आवमै सुरु हुन्छ,” कार्कीले भने, “सोमबारे मैनामैनी चुहार सडकको स्तरोन्नतिको काम पनि सुरु गर्न लागेका छौं ।” चौदण्डीगढी नगरपालिकाको अमिलिखर्क–हडिया–ज्यामिरे–सातधारे–बेल्टार–साउने–धाप्लाङ हुँदै खोटाङ जिल्ला जोड्ने सडक निर्माण भएपछि त्यसक्षेत्रका सर्वसाधारणको आर्थिक अवस्थामा परिवर्तन आउने  उनले बताए । सडक विस्तारको सबै काम दुई वर्षभित्र सम्पन्न गरी तेस्रो वर्षमा कालोपत्रे गर्ने लक्ष्य प्रदेश सरकारको छ । प्रदेश सरकारले खोटाङको विभिन्न गाउँपालिकाका सर्वसाधारणलाई उदयपुर हुँदै तराईका जिल्लामा आवतजावत गर्न सहज बनाउने उद्देश्यले सडकको योजनाअघि सारेको हो । निर्वाचन क्षेत्र जोडिएका जिल्लामा प्रदेश सरकारले अन्तरजिल्ला र अन्तरप्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।