कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
372

खानेपानीमन्त्री बिना मगरले जनतालाई मालिक बनाउन सहलगानीका आयोजना सुरु गरेको बताएकी छन् । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको मंगलबार शिलान्यास गर्दै उनले सहलगानी आयोजना सुरु गरिएको बताएकी हुन् ।
तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानी अभाव हुँदै जान थालेपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पु-याउने उद्देश्यले पानी ट्यांकी शिलान्यास गरिएको हो । गोलढुंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले औपचारिक कार्यक्रमको आयोजना गरी खानेपानीमन्त्रीबाट पानी ट्यांकीको शिलान्यास गराएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सबै जनतालाई प्रशोधनसहित खानेपानीको पहुँच पु-याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको बताएकी छन् । उनले सन् २०३० सम्ममा प्रशोधनसहितको खानेपानी सुविधा शतप्रतिशत पु-याउन सरकार लागिरहेको जानकारी दिएकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “दिगो विकासका लक्ष्य पूरा गर्नुपर्ने दायित्व हामीसँग छ, प्रशोधनसहित खानेपानीको पहुँच पु-याउन धेरै लगानी गर्नुपर्ने आवश्यकता छ, हामी योजना बनाएर अघि बढिरहेका छौं ।”
मन्त्री मगरले जनतालाई मालिक बनाउन खानेपानीको क्षेत्रमा सहलगानी मोडालिटीमा आयोजना अघि बढाएको बताइन् । खानेपानीमा जनताको प्रत्यक्ष सहभागिता गराएरमात्रै आयोजना अघि बढाउँदा समयमै काम सकिने र सफल हुने उनको भनाइ थियो । “जनताले आफैं लगानी गरेको आयोजना सफल भएका छन्, सरकारको ७० प्रतिशत र जनताको ३० प्रतिशत लगानीमा आधारित आयोजना अघि बढाउन हाम्रो टिमले काम गरिरहेको छ । अन्नका लागि मात्रै नभई पानीका लागि पनि हामी संघर्ष गर्नुपर्छ,” उनले भनिन् ।
पानी ट्यांकीको लागत ५० लाख रुपैंया रहेको छ भने ट्यांकीको क्षमता २ लाख २० हजार लिटर छ । समितिले खानेपानी विभागअन्तर्गतको सहलगानी आयोजनासँग मिलेर तारकेश्वर नगरपालिकाभित्र पाँचवटा पानी ट्यांकी निर्माण गर्न लागेको जनाएको छ ।