कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
715

तीव्र आर्थिक विकासको नमूना : प्रम

सुर्खेत-नेपालमै पहिलोपटक सुरुङ खन्ने विशाल उपकरण टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय स्वीच थिचेपछि बाँकी रहेको दुई मिटर सुरुङ खन्दै गत साल कार्तिक २० गते बबईबाट भित्र पसेको टीबीएम मेसिन आयोजनाको ड्याम निर्माणस्थल भेरीगंगा ११ चिप्लेमामा निस्किएको हो ।
राष्ट्रिय गौरवको उक्त आयोजनाको सुरुङ जम्मा १२ किलोमिटर २ सय मिटर लामो छ । सम्झौताअनुसार २०७६ चैत १५ गतेसम्म समय रहेकोमा त्यसको एक वर्षअगावै सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । उक्त सुरुङमार्गबाट भेरी नदीको पानी बबई नदीमा झारेर वर्षैभरी ४८.२ मेगावाट विद्युत निकाल्ने र बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

टीबीएम मेसिनको प्रयोग गरिएको यो पहिलो सुरुङ हो भने एउटा नदीबाट अर्को नदीमा पानी पठान (डाइभर्सन) गरिएको पनि नेपालकै पहिलो आयोजना हो । मंगलबार सुरुङ निर्माण सम्पन्न भएको घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा वलीले भेरी–बबई बहुउद्देश्यीय आयोजना नेपालकै नमूना भएको र यसले थप विकासका लागि उत्साह थपेको बताए । प्रधानमन्त्री ओलीले तीव्र आर्थिक विकासका लागि यस्ता नयाँ आयामहरूले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “यो एउटा नेपालकै नमूना आयोजना भएको छ,” प्रम ओलीले भने, “यस्ता आयोजनाहरूले अब नेपालको तीव्र आर्थिक बिकासको ढोका खोल्नेछन् ।” उनले नयाँ प्रविधि र अध्ययनबाट यस्ता बहुउद्देश्यीय आयोजनाहरू निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्ने बताए । ओलीले अब नेपालको तीव्र विकास लागि प्रविधि र लगानी भित्र्याउन आह्वान पनि गरेका छन् ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न आशंकाकाबीच नेपालमै पहिलोपटक टीबीएम मेसिनले सुरुङ खन्ने कार्य कुशलतापूर्वक सम्पन्न भएकाले यसको अन्य नदी पठानका आयोजनाहरूमा पनि प्रयोगका लागि अध्ययन गरिने बताए । उनले यो आयोजनाबाट नेपालीहरूपनि निर्धारित समयअगावै काम गर्नसक्छन् भन्ने सन्देश जानुका साथै आफ्नै लगानीमा पनि गौरवका आयोजना निर्माण गर्न सकिन्छ भन्ने साहस बढेको बताए । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत संघीय सरकारले ‘जनताको जलविद्युत्’अन्तर्गत राखेको मन्त्री पुनले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेरीको पानीबाट ५ नम्बर प्रदेशको खेत सिँचित हुने भएकाले त्यसबाट उत्पादन हुने विद्युत् प्रदेश सरकारलाई दिनुपर्ने प्रदेश सरकारको माग रहेको स्मरण गराउँदै त्यसलाई पूरा गरिदिन आग्रह गरे । यता ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले भने यो आयोजना अन्तरप्रदेशबीच सहकार्यएको एक नमूना भएको बताउँदै भेरीको पानीबाट उत्पादन भएको अन्न कर्णालीको भोकमेट्न पठाउने बताए । घोषणासभामा उपस्थित नेपालका लागि चिनियाँ राजदूत र नेपालका लागि अमेरिकी राजदूतले अमेरिकाको प्रविधि चाइनाको विशेषज्ञता र नेपालीको लगानीबाट नेपालका लागि नमूना आयोजना निर्माण भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग रहने बताए ।
प्रविधिको नयाँ युग
विभिन्न आशंकाहरूबीच भेरी–बबई बहुउद्देश्यीय आयोजनामा पहिलो पटक सुरुङ खन्नका लागि टीबीएम प्रयोग गरिएको थियो । १२ किलोमिटर लामो उक्त सुरुङमार्ग खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीले गत वर्षको कार्तिक २० गते देखि उक्त मेसिन प्रयोगमा ल्याएको थियो । अर्को वर्षको चैतमा सकिने अनुमान गरिएको भएपनि सुरुङ खन्ने काम एक वर्ष अगाडि नै सकिएको छ । यो आयोजना सफल भएपछि प्रविधिको क्षेत्रमा एउटा नयाँ आयाम थपिएको दिनका रुपमा लिएको आयोजनाका प्रमुख सञ्जीव बरालले बताए ।
सुरुङमार्गबाट प्रतिसेकेन्ड ४० क्यूबिक मिटर (क्यूमेक) पानी बबई नदीमा झर्ने छ । आयोजना प्रमुख बरालका अनुसार विद्युत् आयोजनको निर्माण सकिनुअघि भने केही मात्रामा मात्र पानी बबई नदीमा झारिने छ । विद्युत् आयोजनाको निर्माण अगावै सुक्खा मौसममा केही मात्रामा पानी झार्न सकिन्छ कि भन्ने मन्त्री ज्यूको आदेशपछि हामीले अध्ययन गरेका छौं,” आयोजनाका प्रमुख बरालले भने, “अध्ययनअनुसार सुख्खा मौसममा भेरीको ८ क्युमेक पानी सुरुङ प्रयोग गरी बबईमा झार्न सकिन्छ भन्ने अध्ययनले जनाएको छ ।” जसले गर्दा सिँचाइ आयोजना सम्पन्न हुनुअगावै सुक्खायाममा बबई नदीमा पानी झार्न सकिने र सिँचाइमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
सुरुङमार्ग खन्ने क्रममा भूगोलका कारण दुईवटा स्थानमा समस्या आउनसक्ने पूर्वानुमान गरिए पनि त्यस्तो ठूलो समस्या नआएकोले काम निर्धारित समयअगावै सम्पन्न भएको बताइएको छ । चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माणको जिम्मा लिएको थियो ।
आयोजना सुरुङ निर्माण, विद्युत उत्पादन र सिँचाई गरी तीन चरणमा निर्माण हुँदैछ । त्यसका लागि जलविद्युत् गृह र अन्य सम्बन्धित संरचना निर्माणका काम अब सुरु हुने जनाइएको छ । यो आयोजनाबाट बार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुनेछ । यहाँबाट उत्पादित विद्युत् हालको विद्युत् दर प्रतियुनिट १० रुपैयाँ ५० पैसामा हिसाब गर्दा ४ अर्ब ३ करोड रुपैयाँ पुग्छ । यसका साथै आयोजनाबाट बाह्रै महिना सिँचाइ उपलब्धता भइ कृषि उत्पादन बढेर वार्षिक ३ अर्ब १० करोड रुपैयाँ अप्रत्यक्ष आम्दानी हुने आयोजनाले जनाएको छ ।

गोविन्द खत्री