कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६
335

डिभिजन सडक कार्यालय काठमाडौं १ अन्तर्गत गागलफेदीस्थित घट्टेखोलामा १ करोड ४२ लाख लागतमा बनेको पुलमा पनि पहँुचमार्ग नभएकाले प्रयोगविहीन बन्न पुगेको छ ।

पुल बनाउन हतारिने तर पुलसम्म पुग्ने पहुँचमार्ग नहुँदा केही पुल उपयोगविहीन देखिएका छन् । करोडौं लगानी गरेर बनेका पुलजस्ता पूर्वाधारमा पहुँचमार्ग नहुँदा पुल उपयोगविहीन बनेका हुन् । मुआब्जा तथा जग्गा विवादलगायतले पुलनजिकका पहुँचमार्ग बनाउन अवरोध हुँदै आएको पनि छ । नेपाल–भारत सीमामा निर्माण भएको द्विदेशीय पुलमा पनि पहुँचमार्ग नहुँदा प्रयोगमा आएको छैन ।
महालेखा परीक्षकको ५६औं प्रतिवेदनले पहुँचमार्गविहीन भएर उपयोगविहीन बनेका पुलमा जुम्लाको तिला नदी पुल, काठमाडौंको गागलफेदीस्थित घट्टेखोलामा पुल, पर्साको वीरगन्ज महानगरपालिकास्थित भेडाह खोला पुल र मेची नदीमा पुल छन् । डिभिजन सडक कार्यालय, जुम्लाअन्तर्गत तिला नदी पुल ५ करोड ५० लाख रुपैयाँमा निर्माण भए पनि पुलको संरचना निर्माण सम्पन्न भएकोमा एप्रोच तथा लिंक रोडमा पर्ने जग्गाको विवादको कारण निर्मित पुल सञ्चालनमा नआएको प्रतिवेदनमा उल्लेख छ ।

डिभिजन सडक कार्यालय काठमाडौं १ अन्तर्गत गागलफेदीस्थित घट्टेखोलामा १ करोड ४२ लाख लागतमा बनेको पुलमा पनि पहँुचमार्ग नभएकाले प्रयोगविहीन बन्न पुगेको छ । यसैगरी एक वर्षअघि नै निर्माण सम्पन्न भएको भेडाह खोला पुल पनि पहुँचमार्गविहीन हुँदा उपयोगविहीन छ । पुलसम्म जाने करिब ८०० मिटर सडक निर्माण नगरेकाले पुल उपयोगविहीन हुन गएको प्रतिवेदनमा उल्लेख छ । यस्तै हुलाकी सडक आयोजना योजना कार्यालय इटहरीले ३३ करोड रुपैयाँ लागतमा मेची नदीमा पुल निर्माण सम्पन्न गरेको भए पनि नेपाल र भारत सीमातर्पm २ किमि सडक निर्माण नभएकाले पुलको उपयोग हुन सकेको छैन ।
नेपालमा माग र आवश्यकता दुवैमा आधारित भएर पुल बनाउने गरेको देखिएको छ । प्रतिवेदनले एप्रोच (पहुँच) सडक नहुँदा पुल निर्माणस्थलमा दुवैतर्फ सडक निर्माण गरी सवारी आवागमन हुने व्यवस्था मिलाउनु पर्ने सुझाव दिएको छ । पुलको दायाँबायाँको सडकलाई पहुँचमार्ग भनिन्छ ।
यसैगरी पुल निर्माणकार्य गुणस्तरहीन देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । इलामको फिक्कल–श्रीअन्तुडाँडा सडकको विभिन्न स्थानमा पीच उप्केको र खाल्टो परेको छ । यस्तै बेनी–दरबाङ सडक स्तरोन्नति कार्यमा ढुंगाको पर्खाल तथा ग्याबिन निर्माणकार्य सम्पन्न नहँुदै भत्केको छ । यस्तै दोबिल्ला–फलेबास सडक खण्डको कालोपत्रे उप्किएको, विभिन्न स्थानको ग्याबियन तथा संरक्षण पर्खाल भत्केको एवं सिल्मी फाँटस्थित घुम्तीमा करिब ५० मिटर सडक बिग्रेको अवस्थामा देखिएकोले तोकिएको गुणस्तरमा निर्माणकार्य भएको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सडकसम्बन्धी केही कार्यालयले ठेकेदारलाई गुणस्तरीय कार्य गर्न निर्देश गरे पनि नटेरेको पाइएको छ । सुनसरी मोरङ पुल आयोजना, पुल सेक्टर आयोजना पूर्वीसेक्टर १, डिभिजन सडक कार्यालय पाल्पा, सुर्खेत र मकवानपुरले सडक तथा पुल निर्माणकार्यलाई गुणस्तर युक्त बनाउन सडक विभागले जारी गरेको स्पेसिफिकेसन र निर्माण व्यवसायीले पेस गरेको गुणस्तर आवश्यकता योजनाअनुसार गुणस्तर परीक्षण गरेको नपाइएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी ओखलढुंगाको हर्कपुर–ओखलढुंगा सडक खण्डअन्तर्गत केत्तुकेदेखि रमाइलो डाँडासम्मको १० किमि सडक कालोपत्रे गर्दा निर्माण व्यवसायीले स्वीकारयोग्य गुणस्तरका निर्माण सामग्री प्रयोग नगरेकाले निर्माण सम्पन्न भएको एक वर्ष नबित्दै अधिकांश कालोपत्रे पनि उप्केको प्रतिवेदनमा जनाइएको छ ।