कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
388

सल्यानको थारमारे र कोटमौलालाई जोड्ने बुरेलीघाटमा झोलुंगे पुल निर्माण गरिएको छ ।
जिल्लाको बागचौर नगरपालिकाको वडा नम्बर १ र ८ लाई जोड्ने शारदा नदीको बुरेलीघाटमा निर्माण गरिएको पुलको पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले उद्घाटन गरे । झोलुगें पुल ८९ मिटर लामो छ । यस पुलबाट दैनिक चार पाँच सय मान्छे आवातजावत गर्ने पुल निर्माण उपभोक्ता समितिका सदस्य हरिबहादुर केसीले बताए । उनले थारमारे, कोटमौला र पिपलनेटाको बीचमा निर्माण गरिएको यस पुलबाट रोल्पाको सिमानासम्मका नागरिक पनि आउजाउ गर्छन् ।
स्वाप, हेल्बेटास, टिबिएसयूको आर्थिक तथा प्राविधिक सहयोग र शारदा संस्था सल्यानको सहजीकरणमा ३६ लाख ४० हजार ५ सय २४ रुपैँयाको लागतमा पुल निर्माणकार्य सम्पन्न भएको हो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पठबहादुर बोहराको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बस्नेतले थारमारे कोटमौला जोड्ने पुल निर्माण भएकाले यसलाई आर्थिक क्रियाकलापसँग जोड्न आग्रह गरे । उनले स्थानीयस्तरमा उत्पादित वस्तु बजारसम्म लैजान यही पुलको प्रयोग गरिने भएकाले यसलाई आर्थिक क्रियाकलापसँग जोड्न आग्रह गरे । झोलुगें पुल निर्माण भएपछि सयौं यात्रु खुसी भएका छन् ।