कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
339

काभ्रे-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि आंशिक क्षतिमा परेका लाभग्राहीको घर रेट्रोफिट (प्रवलीकरण) गर्ने अभियान काभ्रेबाट सुरु गरेको छ ।
भूकम्प अतिप्रभवित १४ जिल्लाको एक स्थानीय तह, एक नमुना रेट्रोफिटिङ घर बनाउने अभियान अन्तर्गत छत्रबहादुर परियारको घर रेट्रोफिट गर्न लागेको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । योसँगै ज्ञवालीले नमोबुद्ध नगरपालिका–५ कानपुरको फलाटे गैराका छत्रबहादुर परियारको घर पुगेर रेट्रोफिटिङ अभियान सुरु भएको घोषणासमेत गरे । पुरानो घरलाई रेट्रोफिट गरेर भूकम्प प्रतिरोधात्मक बनाउने कार्यमा केही ढिलाइ भए पनि अब अभियानकै रूपमा भूकम्पप्रभावित जिल्लामा काम गरिने कार्यकारी अधिकृत ज्ञवालीले बताए । भूकम्पप्रभावित जिल्लामा नभत्किए र नचर्किएका भए पनि कमजोर भएको हुनसक्ने भन्दै प्राविधिकको सल्लाहमा घर रेट्रोटिफ गर्न ज्ञवालीले सुझाए । “घर नै भत्किएकाले त नयाँ घर बनाउनै प-यो, तर घर नभत्किएका लाभग्राहीले प्राविधिक बोलाएर घर चेकजाँच गराउनु,” उनले भने, “पुरानो घरलाई रेट्रोफिट गरेर बलियो बनाउने मात्रै होइन हाम्रो मौलिकता पनि जोगाउने तिर हाम्रो ध्यान केन्द्रित भएको छ ।”

केन्द्रीय आयोजना कार्यन्वयन इकाई भवनका निर्देशक नवराज प्याकुरेलका अनुसार अहिलेको समयको मागअनुसार प्रवलीकरणलाई जोड दिनुपर्ने र यसको महत्व भूकम्पपीडित माझ प्रष्ट्याउनु पर्ने बताए । नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्माले नमुनाको रूपमा आफ्नो नगरपालिकाभित्र रेट्रोफिटको कामअघि बढाउने प्राधिकरणको कामलाई स्थानीय सरकारले पनि महत्वको साथ हेरेको बताए । “हामी निकै खुसी छौं, यो नगरपालिकाभित्र यस्ता धेरै घर छन्, जसले मौलिकता झल्काइरहेका छन् ।” उनले भने, “यही प्रविधिले अब हाम्रो नगरभित्रका घर जोगाउनेतर्फ लाग्छौं ।”
पुनर्निर्माण प्राधिकरणको सहजीकरणमा ३२ जिल्लामा बेलायती अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा (विल्ड चेन्ज) नामक गैरसरकारी संस्थाले प्रवलीकरणको काम गर्ने प्राधिकरणले जनाएको छ । नमोबुद्ध नगरपालिका–५ मा मात्रै लगभग १ सय ४० घर आंशिक क्षतिको लाभग्राही सूचीमा छ । जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका अनुसार जिल्लामा करिब ५ हजार घर आंशिक क्षतिमा परेका छन् ।

कपिल कोइराला