कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
528

म्याग्दी-कालिगण्डकी करिडोरअन्तर्गत मुस्ताङ सडक योजना समयमै निर्माण पूरा नहुने भएको छ । प्रदेश ४ को ‘लाइफ लाइन’ मानिएको ४३५ किलोमिटर दूरीको त्रिवेणी–कोरला जोड्ने कालिगण्डकी करिडोर सडक योजनामा निर्माण कार्य भइरहे पनि पूर्वाधार निर्माण ढिलासुस्तीले समयमै काम सम्पन्न नहुने देखिएको हो ।
करिडोर पाँच अर्ब रुपैयाँको लागतमा म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुदैँ चीनको सिमाना कोरला नाका जोड्ने १८६ किमि दूरीको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

गण्डकी प्रदेशको गौरवको आयोजना २०७६ मंसिरसम्म सम्पन्न गर्नुपर्ने बेनी जोमसोम सडकअन्तर्गत गलेश्वरदेखि नारच्याङका सडक निर्माणको ठेक्का लिएको युनाइटेड बिल्डरले ४२ प्रतिशत काम सम्पन्न गरेको साइट प्रमुख बलराम अर्यालले जानकारी दिए । अर्यालले २२ महिनाभित्र काम सम्पन्न गर्ने योजनासहित अघि बढेको जानकारी दिए । सडक निर्माणमा आवश्यक मेसिनरी साधन पर्याप्त मात्रामा प्रयोग गरे पनि श्रमिक जनशक्ति कम प्रयोग गरेको छ ।
जोमसोमदेखि कोरलासम्मको सडकलाई दुई लेनको ग्राभेल र बेनी–जोमसोम सडकलाई दुई लेनको कालोपत्रे गर्ने योजना २०७६ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य छ । ११ वटा खण्डमा विभाजन गरिएको सडक योजनामा परिचालित निर्माण कम्पनीमध्ये युनाइटेड बिल्डरसले ४२ प्रतिशत काम सम्पन्न गरेको छ ।
सडक निर्माणमा गुणस्तरभन्दा पनि जथाभावी मेसिनरी सामान प्रयोग गरेर कमाउने शैलीमात्र देखिन्छ । श्रमिकसंख्या न्यून परिचालन गरेर समयमै करिडोर सम्पन्न नहुने स्थानीय सरकारको भनाइ छ ।
कालिगण्डकी करिडोर सडकको स्तरोन्नति समयमै सम्पन्न गरेर प्रदेशको समृद्धिको यात्रालाई टेवा पुग्ने आशा गरिए पनि ठेकेदारको बेवास्ता, पर्याप्त बजेट र भौगोलिक बनावटमा कामदारको न्यून संख्याले कालिगण्डकी करिडोर सडक योजना समयमा सम्पन्न नहुने देखिन्छ ।
धिरन खत्री