कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
395

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संक्रमणकालीन अवस्थामा समेत देशमा विकास गति ४ बाट बढेर ६ प्रतिशत पुगेको बताएका छन् ।
पाल्पा-आइतवार पाल्पाको तानसेनमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । उनले गत वर्षमा भन्दा अहिलेको सरकारले विकास निर्माणको कामलाई तीव्रता दिएको, विकासमा हुने विभिन्न खालका बाधा व्यवधान, ढिलासुस्ती समेत हटेकाले वार्षिक विकासको गति बढेको बताए ।

उनले भूकम्प, निर्वाचन, संघीयता कार्यान्वयन, ऐन निर्माणलगायतका संक्रमण बीचमा पनि देशको विकासले नयाँ गति लिएको बताए । अहिले देशमा आयात र निर्यातमा असन्तुलन भएको भएता पनि विकास निर्माणको कामले भने गति लिएकोले त्यसको परिमाण समृद्ध नेपाल निर्माणमा देखिने बताए । मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछि बितेका तीन वर्ष काम गर्न नसक्ने अवस्था रहेको भएता पनि नयाँ वर्षमा विकासले तीव्रता पाउने बताए ।
कार्यक्रमा प्रदेश सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाले ऐन कानुन बनाउने र कार्यान्वयन गर्ने क्रमममा रहेको बताए । उनले समृद्ध प्रदेश खुसी जनता सरकारको नारालाई सबैले साथ दिएर अगाडि बढ्न आग्रह गर्दै नयाँ वर्ष सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य तुलाराम घर्ती, नारायण प्रसाद आचार्य, पुरनमान बज्राचार्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, पूर्वसांसद, बुद्धिजीवी, व्यवसायी, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।