महेन्द्र सापकोटा
शुक्रवार, चैत्र २९, २०७५
1161

स्वदेशी लगानीमा हाइड्रोमा झन्डै ३ अर्ब, १६ मेगावाट उत्पादन क्षमता, एक आयोजना सम्पन्न, एक अन्तिम चरणमा, दुइटा बन्ने तयारीमा

दैलेख-कर्णाली प्रदेशकै सबैभन्दा धेरै जलविद्युत् योजाना भएको दैलेखको नौमूले गाउँपालिका । पछिल्लो समयमा विकासको गति संगै जलविद्युत्को केन्द्र बनेको छ नौमूले गाउँपालिका । जलविद्युत् आयोजनाको केन्द्रका रूपमा चिनिँदै आएको नौमूले गाउँपालिकामा मात्रै बेग्ला–बेग्लै चारवटा हाइड्रोपावर कम्पनीहरूले काम थालिन गरेका छन् । द्वारीखोला हाइड्रोले गत वर्षदेखि विद्युत् उत्पादन सुरु गरेको छ भने पदमखोला हाइड्रोपावरको काम ७० प्रतिशत सम्पन्न भएको छ । तल्लो लोहोरेखोला हाइड्रोको काम प्राविधिक समस्याले रोकिएको छ भने अपरलोहोरे हाइड्रोको काम सुरु हुने तयारीमा रहेको छ ।
पदमखोला हाइड्रोपावर कम्पनीले कालीकाको बांगे बजार नजिकैबाट ड्याम निर्माण गरी ३२ सय २० मिटरवाट पानी ल्याई साविकको नौमूले ६ मा निर्मार्णधीन पावरहाउसमा पानी खसाली विद्युत् उत्पादन गरिने पदमखोला हाइड्रोपावर कम्पनीका सञ्चालक कुमार कार्कीले बताए । आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको बताउँदै सञ्चालक कार्कीले बीचमा कुनै बाधा अवरोध नआए जेठ मसान्तसम्म आयोजना सम्पन्न भई उत्पादन सुरु हुने बताए । नौमूले गाउँपालिकाभित्र हाइड्रोमा धेरै लगानीका सम्भावना भएको र लगानीको वतावरण नभएको सञ्चालक कार्कीको भनाइ छ । “सरकारले सामाजिक तथा सुरक्षाका क्षेत्रमा चासो बढाउन आवश्यक छ,” सञ्चालक कार्कीले भने, “नेपाल सरकार तथा गाउँपालिकाले लगानीको वातावरण वनाए त्यस क्षेत्रमा हामी थुप्रै लगानी गर्न तयार छौं ।”
द्वारीखोलाभन्दा केही २ सयदेखि ३ सय मिटर दूरीमा पदमखोला हाइड्रो बन्दै छ भने यो हाइड्रोभन्दा १ किलोमिटर दूरीमा लोहोरेखोला आयोजना बन्दै छ । साथै द्वारीखोलाभन्दा २ सय मिटर नजिकै अपर लोहोरे आयोजना बन्दै छ । यस आयोजनाले जग्गा खरिद प्रक्रिया अगाडि बढाइ प्राविधिक कामको सुरु गरेको छ । उता तल्लो लोहोरे आयोजनाले बालुवाटारस्थित लोहोरेखोलामा पदमखोलाको पानी मिसाएर १४ मिटर लामो र ४.५ मिटर अग्लो ड्याम बनाई ३५ सय मिटर तलको तोली भुर्सुको खरखैरनीमा खसाल्नेछ आयोजनाको लक्ष्य रहेको छ । यी ४ वटै आयोजना स्वदेशी लगानीमा बन्न लागेका हुन् ।
नौमूले गाउँपालिकामा बन्दै गरेका आयोजनाले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार र आर्थिक सुधारमा टेवा पु¥याउने विश्वास स्थानीयवासीको छ । नौमूले गाउँपालिकाका क्षेत्रमा खोलापिच्छे जलविद्युत् आयोजना बन्ने भएपछि स्थानीयवासी हर्षित छन् । नौमूलेमा गाउँपालिका कार्यालय स्थापनासँगै बढेको व्यापार झनै हाइड्रोपावरले गर्दा व्यापार वृद्धि भएको बताउँछन् व्यापारी विक्रम हमाल । १० वर्षे जनयुद्धले थला परेको नौमूले विस्तारै विकास निर्माणका कामले गति लिन थालेको उनी बताउँछन् । “जलविद्युत्का कामले गर्दा व्यापार व्यवसाय पनि बढेको छ,” उनले भने, “स्थानीयले पनि केही न केही सीपअनुसारको रोजगारी पाएका छन्, ।” हाइड्रोमा यहाँका करिब ५ सय जनाभन्दा बढीले रोजगारीसमेत पाएका छन् । नौमूले गाउँपालिका दैलेखको उत्तरपूर्वी भेगका ७ गाविसको केन्द्रबिन्दु मात्र नभई जुम्ला र जाजरकोटको व्यापारिक नाका समेत हो । दैलेखसँग सीमा जोडिएका ती जिल्लाका स्थानीय बासिन्दा नुन, चामल, तेल, लत्ताकपडा लगायत सामग्री नौमुलेबाटै लैजान्छन् भने आफ्ना घरेलु उत्पादन यहाँ ल्याएर बिक्री गर्छन् ।
स्थानीय हरि रानाले नौमूले गाउँपालिकामा जलविद्युत्का कामले गर्दा व्यापार व्यवसाय बढेको दाबी गरे । ठूला आयोजनाले गर्दा विकासको चौतर्फी मार्ग प्रशस्त हुने उनको धारणा छ । “नौमूले कालिका द्वारी, बालुवाटार तोलीका वडाहरूका अधिकांश खोला, नदीहरूबाट विद्युत् आयोजना बनाउन सकिने सकिन्छ,” उनले भने, “नौमूले गाउँपालिका कर्णाली प्रदेशकै ‘हाइड्रो हब’ बन्दै छ ।” उनले यस नौमूले गाउँपालिकामा धेरै मात्रमा लगानीकर्ता भित्रिने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।
नौमूलेमा मात्र निर्माण सुरु गरिएका हाइड्रोको उत्पादन कर्णाली प्रदेशमा लगाएत अन्य जिल्लामा पनि खपत हुन सक्ने क्षमता भएको बताउँछन् पदमखोला हाइड्रोपावरका सञ्चालक कुमार कार्की । उनका अनुसार नौमूलेमा बन्न लागेका हाइड्रोको क्षमता भन्डै १६ मेगावाट हुने र यो क्षमता कर्णाली प्रदेशका सबै जिल्लालाई पुगेर अन्य प्रदेशमा खपत हुन सक्ने क्षमता हो । दैलेखमा साना साना क्षमताका हाइड्रोहरू धेरै बनाउन सकिने भन्दै यसमा लगानीको वातावरण बनाउन सरोकारवाला निकायले चासो नदेखाएको बताए ।
दैलेख उद्योग वाणिज्य संघ नौमूले शाखाका अध्यक्ष रमेश गहतराजले नौमूले गाउँपालिकालाई ‘हाइड्रो हब’ बनाउन गाउँपालिकाले बृहत् योजना बनाउन आवश्यक रहेको बताए ।
चार महिनायता २क हजार बढी पर्यटक
निर्माण सम्पन्न भएको डोल्टी पावर कम्पनीअन्तर्गत द्वारीखोला हाइड्रो अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विगत चार महिना यता भन्डै दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले हाइड्रोको अवलोकन गरेको हाइड्रोपावरको प्रवेश पुस्तिकामा उल्लेख छ । विगतका वर्षमा भन्दा हाइड्रो हेर्नेको संख्या यस वर्ष बढेको पदमखोला हाइड्रो कम्पनीका सञ्चालक कुमार कार्की बताउँछन् । उनले नौमूलेमा एकै पटक धेरै हाइड्रो बन्न लागेकाले पनि अवलोकन गर्नेको संख्यामा वृद्धि भएको बताए ।
जिल्लामा भित्रिने जो कोही पनि एक पटक नौमूलेमा रहेको हाइड्रोको अवलोकन गर्ने गरेको पाइएको छ । सुर्खेत, नेपालगन्जलगायत बाहिरी जिल्लाबाट पनि हाइड्रो हेर्न आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको नौमूलेका होटल व्यवसायी झलक ‘नौमूले’ बताउँछन् । “हाइड्रोले गर्दा होटल व्यवसायमा पनि निकै फाइदा पुगेको छ,” उनले भने, “दिनहुँ हाइड्रो हेर्न आउने पर्यटकले होटल चलिरहेको छ ।” त्यस क्षेत्रमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरू शैक्षिक अवलोकनमा समेत जाने गर्दछन् ।
गाउँपालिकाले लगानीमैत्री वातावरण बनाउने नौमूले गाउँपालिकाले त्यस क्षेत्रमा लगानी गर्न इच्छुक कम्पनीहरूलाई लगानीको वातावरण सिर्जना गर्ने बताएको छ । विकासका लागि काम गर्ने तथा लगानी गर्ने कम्पनी तथा संस्थाहरूलाई गाउँपालिकाले सहजताका लागि सहयोग गर्ने बताएको छ ।
नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढाले यस्ता किसिमका विकास निमार्णका काममा गाउँपालिकाले लगानीमैत्री वातावरण वनाउने बताए । नौमूले गाउँपालिकाको आर्थिक समृद्धिको एउटा पाटो हाइड्रोपावर भएकाले नौमूलेमा पानीमा लगानी ढुक्कसँग गर्न अध्यक्ष बुढाले आग्रह गरे । नौमूलेवासीको आर्थिक समृद्धिका लागि लगानीकर्तालाई नौमूलेको ढोका खुल्ला रहेकाले गाउँपालिकाले लगानीमैत्री वतावरण बनाएको बताए ।