कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५
443

सल्यान-पचपन्न वर्षसम्म अलपत्र परेको सडक स्तरोन्नति गरिने भएको छ । वि.सं २०२० सालमा खोलिएको मदाना–पैयाखर्क हुँदै लक्ष्मीपुर जोडने सडकको ट्रयाकको स्तरोन्नति गरिने भएको हो ।
सल्यानको शारदा नगरपालिका–१० मदनाबाट पैयाखर्क हुँदै कालिमाटी गाउँपालिकाको लक्ष्मीपुर जोड्ने सडक पुनः निर्माण तथा स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । २०२० सालमा तत्कालीन मन्त्री नेबबहादुर मल्लले शिलान्यास गरेको सडक ५५ वर्षसम्म अलपत्र परेको थियो । अब यो सडकलाई कर्णाली प्रदेश सरकारको पहलमा सुचारु गरिन भएको हो । त्यसका लागि तत्काल ४ किमि सडक खन्न प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । सडकको शिलान्यास सोमबार कर्णाली पदेश सरकारका आर्थिक तथा योजना मामिलामन्त्री प्रकाश ज्वालाले गरेका हुन् ।

उनले अहिले किमि सडक खनिए पनि आगामी वर्ष सडकको लक्ष्य पूरा गर्ने बताएका छन् । मदनाबाट पैयाखर्क हुँदै लक्ष्मीपुरसम्म यो सडक करिब १० किमिभन्दा धेरै भएको सडक उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर खडकाले बताए । उनका अनुसार तत्कालीन समयमा जनश्रमदानमार्फत यो सडकको ट्रयाक खोलिएको थियो । २०२० सालमा सुरु गरिए पनि २०५६ तिर पूर्णरूपमा सडक खन्ने काम भएको थियो ।
पर्यटकीय क्षेत्र लक्ष्मीपुरको त्रिकोटेश्वर मन्दिरसँग जोडिएको सडक साँघुरो र अप्ठेरो भएकाले स्तरवृद्धि गर्न लागेको कालिमाटी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रविलाल बस्नेतले बताए । सडकलाई तत्कालीन जिविसअन्तर्गत सञ्चालित विश्व खाद्य कार्यक्रमले निर्माण गर्न चासो देखाएको थियो । तर द्वन्द्वको समय भएकाले तत्कालीन विद्रोही माओवादीले अवरोध गरेका कारण बीचैमा अवरुद्व भएको स्थानीय वृद्ध कर्णबहादुर भण्डारीले बताए ।
सडकको शिलान्यास गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कोटीसँग पर्यटक क्षेत्रलाई प्रचार प्रसार गर्नका लागि पनि यो सडक आवश्यक भएको बताएका छन् । यो पर्यटक सडक भएकाले कालिमाटी रामपुरसँग जोडने पनि उनले बताए । ज्वालाले कृषि, पर्यटन, उद्योगजस्ता सडकलाई जोड दिएर जिल्लाका सडकमा बजेट विनियोजन गरिएको जनाए । उनले निर्वाचित भएको पहिलो वर्ष प्रदेशमा काम गर्ने कुनै आधार नभएकाले त्यति काम गर्न नसकिएको र अब विस्तारै कर्णाली प्रदेशमा विकास निर्माणका कामले तीव्रता पाउने बताए । यो सडकको योजना भने खलंगा–लक्ष्मीपुर–रामपुर–काल्चे हुँदै नेपालगन्ज जोड्ने रहेको थियो ।
मेघा रेउले