कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५
487

दमौली-ठेकेदारको लापरबाहीले तनहुँको भानु नगरपालिका–६ र ७ जोड्ने चुँदीखोलाको निर्माणाधीन पुल ढिलाइ भएको छ । वि.सं २०७५ वैशाख २८ गते निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरबाहीले अलपत्र परेको हो ।
तत्कालीन जिल्ला विकास समितिमार्फत् आव ०७२-७३ मा पुल निर्माणका लागि २ करोड ८७ लाखमा ठेक्का लागेको थियो । निर्माणको ठेक्का पाएको स्वच्छन्द-मनाजेभी प्रालिको लापरबाहीका कारण समयमै पुल निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासी कृष्णराज ढकालले बताए । उनका अनुसार ठेकेदारले तत्कालै पुल निर्माणको काम अगाडि नबढाए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

स्थानीयवासी समेत रहेका भानु नगरपालिकाका कार्यकारी सदस्य देवबहादुर भुजेलका अनुसार पुल निर्माणमा ठेकेदारले चासो देखाएका छैनन् भने ठेकेदारलाई काम गराउनका लागि सम्बन्धित निकायले समेत दबाब दिएको छैन । उनले भने, “पुल निर्माणमा भएको ढिलाइबारे यसअघि पनि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका हौँ । तैपनि काम अगाडि बढ्न सकेको छैन ।” पुल निर्माण नहुँदा वर्षायाममा सर्वसाधारणलाई आवातजावत गर्न समस्या पर्ने गरेको उनको गुनासो छ । “पुल कहिले सम्पन्न होला भनेर स्थानीयले कुर्न थालेको धेरै भयो । अब वर्षायाम सुरु हुने बेला भयो,” उनले भने ।
स्थानीयवासीले पुल निर्माणमा ढिलाइ भएको बारे जिल्ला समन्वय समिति तनहुँको समेत ध्यानाकर्षण गराएका छन् । समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसँग भेट गर्दै उनीहरूले वैशाख ५ गतेभित्र ठेकेदारले काम नगरे त्यसपछि आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन् । समन्वय समितिका प्रमुख वाग्लेले वैशाख ५ गतेभित्र पुल निर्माणको काम सुरु गर्न ठेकेदारलाई आग्रह गरिएको जानकारी दिए । “त्यसपछि के गर्ने भन्ने विषयमा थप छलफल गर्छौं,” उनले भने, “ठेक्का बदर गर्नुभन्दा ठेकेदारलाई नै फकाएर काम लिनु उत्तम हुने देखिन्छ ।”
निर्माण व्यवसायी महेन्द्र अधिकारीले वैशाख ५ गतेभित्र पुल निर्माणको काम सुरु गर्ने बताए । “निर्माण भएको कामको बिलअनुसारको भुक्तानी हुन ढिलाइ भएकाले काम अगाडि बढ्न समस्या परेको हो,” उनले भने, “काम गर्ने कामदार बिदामा घर गएको र नआइपुगेकोले पनि केही समस्या परेको छ ।”