केशव समर्पण
बुधवार, चैत्र २७, २०७५
402

हेटौंडा-प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण काम गर्न नसकेको भन्दै ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले सरकारको आलोचना गरेका छन् ।
मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तपक्ष तथा विपक्षका सांसदहरूले विकास निर्माणको काम गर्न नसकेकाले जनताले प्रदेश सरकारलाई गिज्याइरहेको टिप्पणी गरेका हुन् ।

आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि विकास खर्च निकै न्यून रहेको भन्दै यसले सरकारलाई असफलतातिर धकेलिरहेको सांंसदहरूको भनाइ थियो । सांसद राधा घलेले प्रदेश सरकार गठन भएको १४ महिना बितिसक्दा पनि जनताले प्रदेश सरकारको अनुभूति गर्न नपाएको भन्दै आलोचना गरिन् । “दुई तिहाइ बहुमत प्राप्त सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरण समेत गर्न सकेको छैन । विकास निर्माणको अवस्था कमजोर रहेको बारे त मुख्यमन्त्रीज्यू आफैंले स्वीकारी सक्नुभएको छ,” उनले भनिन्, “सरकारलाई जनताले गिज्याइरहेका छन् ।”
सांसद् सिर्जना शैंजुले प्रदेश सरकारले बेलैमा काम नगरेर आवको अन्तिममा बजेटमात्र सक्याउने गरी काम गर्ने संकेत देखाएको भन्दै त्यसको विरोध गरिन् । “सबै हिसाबले प्रदेश सरकार पूर्णरूपमा असफल भइसकेको छ । अब जनताबाटै बहिष्किृत हुने अवस्था नआओस्,” उनले भनिन् । विशेष समयमा बोल्ने अर्का सांसद् रमेश पौड्यालले राष्ट्रपतिका लागि भवन निर्माण गर्ने भन्दै देशकै लामो इतिहास बोकेको प्रहरी तालिम केन्द्र भत्काउन लागिएको विषयमा यथार्थ सूचना संघीय सरकारले दिनुपर्ने माग गरे । विशेष समयमा सांसद् चेतनाथ सञ्जेलले हेटौंडा–काठमाडौं जोड्ने कान्तिराज पथ सडक छिट्टै स्तरोन्नतिको काम सम्पन्न गर्नका लागि प्रदेश सरकारमार्फत् दबाब सिर्जना गर्न जरुरी रहेको बताए ।
सांसद् हिरानाथ खतिवडाले प्रदेशको स्थायी राजधानी र नामकरण अहिलेसम्म गर्न नसक्नु गलत भएको टिप्पणी गरे । सभामा मीना ज्ञवाली रिता माझी, ओम ग्लान, रत्नप्रसाद ढकाल, वेलीमाया घले तथा सरेश नेपाललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
विधेयकमाथि सैद्धान्तिक छलफल
प्रदेशसभाको मंगलबारको बैठकमा ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । छलफल सकिएसँगै संशोधन दर्ताको लागि आह्वानसमेत भएको छ ।
सोमबारको प्रदेशसभामा पेश भएको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मंगलबारको प्रदेशसभा बैठकमा सदस्यहरूले धारणा राखेका हुन् । सैद्धान्तिक छलफलमा दर्जनौं सांसदले प्रस्तावित विधेयकमाथि आफ्नो भनाइ राखेका थिए । प्रदेशसभाको मंगलबारको बैठकमा समाजिक विकासमन्त्री युवराज दुलालले मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका थिए ।