कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५
570

पहिलो दिन नै ६ करोडको सेयर आवेदन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा सेयर आवेदन गरेका छन् । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सेयर आवेदन गर्ने उनी पहिलो नेपाली नागरिक हुन् ।प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीले ‘जनताको जलविद्युत्’अन्तर्गत निष्कासन गरेको आयोजनाका लागि बिहीबार प्रधानमन्त्री निवास वालुवाटारबाट प्रधानमन्त्री ओलीले १ लाख रुपैयाँ बराबरको १० हजार कित्ता सेयरका लागि आवेदन हालेका थिए । प्रधानमन्त्रीले ग्लोबल आइएमई र नेपाल डिपो लिमिटेडमा डिम्याट खाता खोलेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अघि बढाएको कार्यक्रम प्रधानमन्त्री ओली र मन्त्री वर्षमान पुनले गत फागुन २ गते संयुक्त रूपमा शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले कार्यक्रम शुभारम्भ भएको ३५औं दिनमा आफूले सेयर किन्ने बताएका थिए ।प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताका लागि तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पुनले १० हजार रुपैयाँ बराबरको १ हजार कित्ताका लागि आवेदन गरेका छन् । पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले २० हजार रुपैयाँ बराबरका अर्थात २ हजार कित्ताका लागि सेयर आवेदन दिएकी छन् । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको आयोजनामा लगानी गर्न चैत १ मा आवेदन आह्वान गरी बिहीबारदेखि विक्री सुरु भएको हो । मन्त्रालयका अनुसार बिहीबार साँझसम्म प्रधानमन्त्रीसहित १२ हजार ७ सय ७३ जना सर्वसाधारणले ६ करोड ३ लाख ११ हजार ३ सय बराबरको ६० लाख ३१ हजार १ सय ३० बराबरको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणलाई जारी गर्ने १५ प्रतिशत अर्थात ३५ करोड ९३ लाख ८ हजार ५ सय रुपैयाँ सेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ७० लाख ५० लाख रुपैयाँ बराबरको सेयर सार्वजनिक गर्न लागेको छ । ५० प्रतिशत आयोजनाको निर्माण कार्य सुरु गरेपछि थप ९० प्रतिशत सेयरधनीले आवेदन दिएका छन् । मन्त्रालयले ४९ प्रतिशत जनताको सेयर रहने तथा सुरुमा १० प्रतिशत सेयर दिने गरी एक खर्ब बराबरको १९ आयोजनाको सेयर जनतालाई दिने सार्वजनिक गरेको थियो । बिहीबारदेखि खुला गरेर छिटोमा चैत १२ गते र ढिलोमा वैशाख ६ गतेसम्म सेयर आवेदन दिन पाउने गरी कम्पनीले सार्वजनिक सूचना जारी गरेको छ । बढीमा एक हजार कित्तासम्म जारी गर्न पाउने सेयरको सय रुपैयाँ मूल्य अंकितमध्ये १० प्रतिशत अर्थात १० रुपैयाँमा आवेदन दिन पाइने व्यवस्था गरिएको छ । मन्त्रालयले त्रिशूली ३ बी पछि ८७ मेगावाटको तामाकोसी भी तथा त्यसपछि अन्य आयोजनाहरूमा जनताको जलविद्युत्अन्तर्गत सेयर जारी गर्न लागेको छ । मन्त्रालयको जनताको जलविद्युत् कार्यक्रम संयोजक एवं सहसचिव नवीनराज सिंहले जनताको जलविद्युत् कार्यविधिअनुसार सबै आयोजनाहरूलाई आफ्नो प्रबन्धपत्र संशोधन गर्न पत्राचार गरिएको जानकारी दिए ।