कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
613

छिमेकी मुलुक चीनले नेपालको चिया क्षेत्रको विकास र प्रवद्र्धनका लागि नेपालले चाहेअनुसार सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । चीनमा हुने अन्तर्राष्ट्रिय चिया सम्मेलनमा सहभागी हुन पुगेको नेपाली प्रतिनिधिमन्डलसँग चिनियाँ अधिकारीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
शनिबार चीन पुगेका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल नेतृत्वको प्रतिनिधि मन्डलसँगको भेटमा सिचुवान प्रान्तको इबिन नगरका उपमेयर चाङ पिङ नेतृत्वको टोलीले नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेको हो । गतवर्ष उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमणका क्रममा पनि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै चिया उद्योगको विकास गर्ने समझदारी भएको स्मरण गर्दै उपमेयर पिङले चीनले नेपालको अनुकूलताअनुसार सहयोग गर्ने बताएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

चीनले नेपालसँग मिलेर संयुक्त रूपमा चियाको विकास र विस्तार गर्न दुवै पक्ष तयार रहेको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए । चीनले चियाका लागि प्रोसेसिङ प्लान्ट विस्तार र प्रविधि सहयोग गर्ने प्रतिबद्धता जनाएको र जवाफमा मन्त्री खनालले चीनसँगको पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउँदै बहुआयामिक बनाउनुबताएका थिए । उनले नेपालले चिया तथा कफीमा राम्रो सुरुवात गरेको भए पनि अझै उत्कृष्ट बन्न नसकेको अवस्थामा नेपाल सरकारले निर्यात गर्ने कृषि उपजको रूपमा राखेकाले चिया र कफीलाइ उच्च प्राथमिकता राखेको जानकारी गराएको गिरीले बताए ।
चियाको हब मानिने इबिनले तीन वर्षदेखि नियमित अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्दै आएको छ । गतवर्ष उपराष्ट्रपति पुन प्रमुख अतिथिको रूपमा त्यहाँ गएका थिए । सम्मेलनमा विश्वका ४० राष्ट्रका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलनमा नेपालका तर्फबाट मन्त्री खनाल, मन्त्रालयका सहसचिव हरिबहादुर केसी र मन्त्रीका प्रेस संयोजक बोमलाल गिरी सहभागी छन् ।