कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
445

लमजुङ-जलविद्युत्मा प्रवल सम्भावना रहेको लमजुङमा उत्पादन कार्यान्वयनमैत्री बनाउन नीतिगत परिमार्जन आवश्यक रहेको सरकोकारवालाले बताएका छन् । सदरमुकाम बेंसीसहरमा भएको छैटौँ लमजुङ महोत्सवको अवसरमा आयोजित जलविद्युत् उत्पादनमा कार्यान्वयनमैत्री वातावरण विषयक कार्यशाला गोष्ठीमा सरोकारवालाले यस्तो बताएका हुन् ।
जलविद्युत् उत्पादनका लागि पर्याप्त सम्भावना भए पनि राष्ट्रिय नीतिका कारण लगानीकर्ताहरू उत्साहित नभएको कार्यक्रमका सहजकर्ता एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका उपाध्यक्ष कुमार पाण्डेले बताए । पाण्डेले पछिल्लो समय संघीयता कार्यान्वयनसँगै तीन तहको सरकार बनेपछि जलविद्युत् उत्पादनसम्बन्धी अझै अन्योल छाएको बताए । “नीतिगत झञ्झट छ,” उपाध्यक्षले भने, “नीतिगत झञ्झटले गर्दा लगानीकर्ताले दुःख पाइरहेका छन् ।”

जलस्रोतलाई उपयोग गर्नसके मुलुकले विकासको गतिलिने भन्दै जलविद्युत्मा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारले विशेष प्राथमिकता दिनुपर्ने कार्यक्रमका सहभागीको धारणा थियो । राष्ट्रिय नीति परिमार्जनसँगै यसको कार्यान्वयनमा पनि विशेष चासो दिनुपर्ने कार्यक्रमका सहभागी एवं मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाले भइरहेका नीतिलाई पनि राम्रोसँग कार्यान्वयन गर्न नसकेको विकको आरोप थियो ।
जिल्लामा जलविद्युत्को प्रचुर सम्भावना रहेकाले जलविद्युत् प्रवद्र्धनका निम्ती प्रत्येक पटक आयोजना गरिएका महोत्सवमा यससम्बन्धी कार्यशाला गोष्ठी गरिँदै आएका छन् । महोत्सवमा आयोजना गरिएका जलविद्युत्सम्बन्धी कार्यशाला गोष्ठीबाट नै जिल्लामा लगानीमैत्री वातावरण बनेको र अब जलविद्युत्सम्बन्धी आमनागरिकलाई थप सचेत गराउन यस्ता गोष्ठी प्रभावकारी हुने लमजुङ उद्योग वाणिज्य संघको दाबी छ ।
कार्यशाला गोष्ठीबाट जलविद्युत् उत्पादनमा कार्यान्वयनमैत्री वातावरण सिर्जनाका लागि स्थानीय राजनीतिक दलले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नेकपा जिल्ला संयन्त्र सदस्य कृष्णप्रसाद अधिकारी र कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले मुलुकको समृद्धिका लागि जलविद्युत् प्रमुख आधार भएकाले अनावश्यक विरोध नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसअघि स्थानीय राजनीतिक दलले पनि जलविद्युत्मा लगानीमैत्री वातावरण सिर्जना गर्न जिल्ला परिषद्बाट नै प्रतिबद्धता जनाइसकेका छन् । निजी क्षेत्रबाट पनि लगानीमैत्री वातावरण बनाउन र जिल्लालाई जलविद्युत्को नमुना जिल्ला घोषणाको निम्ती पहल गर्दै आएका छन् ।
कार्यशाला गोष्ठीमा इप्पानका उपाध्यक्ष पाण्डेले जलविद्युत् विकास, ऊर्जा खपतको अवस्था तथा विकासको मोडेल, राष्ट्रिय नीति र हालको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सविधानसभा सदस्य जमिन्द्रमान घले, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिँह अर्याल, दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकलगायतको उपस्थिति थियो ।

सन्देश पौडेल