कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
349

दिगो विकास लक्ष्यको एजेण्डा २०३० सफल पार्न निजी, सार्वजनिक र सामाजिक साझेदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बुधबार आयोजना गरेको दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयनमा राज्य र गैरसरकारी निकायको भूमिका विषयक राष्ट्रिय परामर्श गोष्ठीमा सरोकारवालाले यसमा जोड दिएका हुन् । कार्यक्रममा सरोकारवालाले नागरिक समाज र समुदायमा आधारित संघसंस्थालाई सरकारले कम आंकलन र बेवास्ता गर्ने गरेका कारण दिगो विकास लक्ष्यका कुरा तल्लो तहका जनतासम्म पुग्न नसकेको दाबी गरे ।

कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले हरेक किसिमको विकासका बारेमा योजना बनाउँदा जनताको स्वास्थ्यलाई केन्द्र विन्दुमा राखेर बनाउनुपर्नेमा जोड दिए । उनले भने, “आर्थिक सशक्तीकरण, कृषिमा क्रान्तिलगायतका कार्य गर्दा जनताको स्वास्थ्यलाई दृष्टिगत गरिएन भने त्यो कार्य सफल हुन सक्दैन ।” राष्ट्रिय योजना आयोगका सदस्य उमा झाले दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता भएको र यसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी स्वस्थ जीवन सुनिश्चित गर्ने जानकारी दिए । यो लक्ष्यले पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारीलाई आधारस्तम्भ बनाएको पनि उनले बताए । प्रकृतिसँग सामञ्जस्यता कायम गर्दै समृद्ध र सम्मुन्नत जीवनको सुनिश्चितताका लागि दिगो विकास लक्ष्य अपरिहार्य रहेको पनि उनले बताए ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नेपालकी तृप्ती राइले नेपालका ७६ प्रतिशत गरिब जनता अझै पनि अस्वस्थकर पानी खान बाध्य भएको जानकारी दिइन् ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष जीवराम लामाले सरकारका हरेक एजेण्डालाई जनतासमक्ष पु¥याउन सामाजिक संस्थाले काम गरिरहेको र दिगो विकास लक्ष्यबाट समृद्धिको यात्रा तय हुने बताए ।