कृष्ण न्यौपाने
सोमवार, माघ २८, २०७५
584

केबलकारको डीपीआर नेपालमै बन्ने

दमौली-केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अब नेपालमै हुने भएको छ । यसअघिसम्म केवलकारको विस्तृत परियोजना प्रतिवेदन लगायतका प्राविधिक काम लागि स्विट्जरल्याण्ड, अस्ट्रेलिया, बेलायतमा मात्रै हुने गरेकोमा अब भने नेपालमै यसको सुविधा प्राप्त हुने भएको छ ।
पोखरामा कार्यालय रहेको आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन कम्पनी लिमिटेडले केवलकारका लागि आवश्यक डीपीआर बनाउने गरी भारतको सीआरए कम्पनी र बेलायतको ब्रेको कम्पनीसँग सम्झौता गरेको छ ।
नेपालमा केवलकार यातायातको प्रचुर सम्भावना रहेका कारण दक्ष प्राविधिक एवं कम्पनीको अभाव खेप्दै आएकोमा अब सबै काम नेपालमा नै गर्न सक्ने बाटो खुलेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
“दक्ष प्राविधिक एवं कम्पनीको अभावले लगानीकर्ताहरूलाई यसको निर्माणको विषयमा खासै ज्ञान छैन,” शर्माले भने, “यही अभावलाई परिपूर्ति र केवलकार यातायातलाई बढावा दिने गरी ती कम्पनीसँग मिलेर प्राविधिक र यान्त्रिक उपकरणहरूको प्रयोग, अन्तर्राष्ट्रिय प्रविधि सम्परीक्षण गर्न सक्ने गरी आरकेडी कम्पनीले अधिकार प्राप्त गरेको छ ।”
कम्पनीले नेपालका सात ठाउँमा काम गर्ने गरी सम्बन्धित लगानीकर्ताहरूसँग डीपीआर, प्रविधि र प्राविधिक सेवा उपलब्ध गराउने गरि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।
“नेपालमा केवलकारको डिपीआर बनाउने तथा बनेका डीपीआरहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार छ वा छैनन् भन्ने सम्परीक्षण गर्न सक्ने अधिकार पनि पाएका छौ,” उनले भने ।
कम्पनीले पूर्वसम्भाव्यता अध्ययन, प्राविधिक, आर्थिक, व्यवस्थापनलगायतका प्रतिवेदन बनाउनेछ । नेपालमा नै डीपीआर बनाउँदा लागत धेरै सस्तो पर्ने, नेपाली भूगोलअनुसार बन्ने र अनुगमन गर्नसमेत सहज हुने कम्पनीले जनाएको छ ।