दिपक बोहरा
सोमवार, माघ २८, २०७५
991

पाँचथरको चिवाभञ्जाङदेखि बैतडीको झुलाघाटसम्म जोड्ने मध्यपहाडी लोकमार्गले एक पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला पुग्न तराईको सडक प्रयोग गर्नुपर्ने बाध्यता हटाउने भएको छ ।
राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग पाँचथरको चिवा भञ्जाङबाट बैतडीको झुलाघाटसम्म एक हजार ७ सय ७६ किमि दूरी छ । यसले तराई झर्नुपर्ने बाध्यता हटाई पहाडलाई सिधा यातायातको सम्पर्कमा ल्याउने जनाइएको छ ।

पूर्व खण्डको मध्यपहाडी लोकमार्गबाट संघीय राजधानी काठमाडौं पुग्न सकिने गरी सडकको ट्रायक खुलेसँगै अब पहाडबाट सिधै राजधानी पुग्न सकिने भएको छ । पाँचथरसँगै प्रदेश १ का विभिन्न जिल्लामा मध्यपहाडी लोकमार्गको काम धमाधम भइरहेको छ । कतै स्तरोन्नतिको काम भइरहेको छ भने कतै कालोपत्रे गर्ने काम भइरहेको मध्यपहाडी लोकमार्गको फिदिम कार्यालयका आयोजना प्रमुख अभिमान मुल्मीले जानकारी दिए । पूर्वी खण्डको पाँचथर र भोजपुरमा योजना अनुरुप काम भए पनि तेह्रथुममा ठेकेदारले काममा ढिलाइ गर्दा तेह्रथुम खण्डमा केही सुस्त भइरहेको जानकारी मुल्मीले दिए ।
मध्यपहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर र सिन्धुली जोड्ने मुल्मीले जानकारी दिए । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको गणेश चोक–जोरसाल ४० किमि खण्ड पक्की सडक मेची राजमार्गमा पर्छ । गणेश चोकदेखि चिवाभञ्ज्याङ ६१ किमि छ । जसमध्ये ९ किमि गणेश चोक–दोरुम्बा सडक खण्ड पिच भइसकेको छ । अब केही समयपछि डीपीआर गरी कलोपत्रे गरिने मुल्मीले बताए । तेह्रथुमतर्फ जोरसालदेखि माझीटार ११ किमि खण्ड यसअघि नै पिच भइसकेको छ । तमोरदेखि सङक्रान्ती ४५ किमि कालोपत्रेको तयारी सुरु भइसकेको छ । तेह्रथुमको म्याङलुङदेखि वसन्तपुर बजारसम्मको २६ किमि कालोपत्रको तयारी सुरु भएको छ । वसन्तपुरदेखि धनकुटाको हिलेसम्म २२ किमि छ । यो खण्ड कोसी राजमार्ग पर्छ । हिलेदेखि भोजपुरको लेगुवासम्म २६ किमिमा कालोपत्रेको तयारी सुरु भएको मुल्मीले जानकारी दिए । लेगुवादेखि भोजपुर ६६ किमि सडक कालोपत्रे भइरहेको छ । भोजपुरदेखि चखेवा ४२ किमिमा कालोपत्रेको तयारी सुरु भएको छ । चखेवादेखि दिक्तेल ८८ किमि पनि कालोपत्रे गर्ने तयारी भएको छ । खोटाङको दिक्तेलदेखि हलेसीसम्मको ३५ किमि खण्ड पनि धमाधम निर्माण भइरहेको मुल्मीले जानकारी दिए । हलेसीदेखि हिलेपानी ४० किमि, हिलेपानी–घुर्मीको ७६ किमिमा काम भइरहेको छ । घुर्मी–खुर्कोट ६० किमि खण्ड पहिले नै पिच भइसकेको मुल्मीले बताए ।
यसअघि काठमाडौंबाट हेरिँदै आएको मध्यपहाडी लोकमार्ग आयोजनाको कार्यालय अहिले पाँचथरको फिदिममा भोजपुरसम्म हेर्ने गरी कार्यालय स्थापना भएको छ । कार्यालय स्थापना भएसँगै लोकमार्गको कामले गति लिने आयोजना प्रमुख मुल्मीले बताए । लोकमार्गले पहाडको जीविकोपाजर्नमा र आर्थिक कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको छ । पाँचथरलगायत पहाडी जिल्लाको कृषि उपज उत्पादन बजारसम्म पु-याउन लोकमार्गले सहज भूमिका खेल्नेछ ।
पहाडैपहाड जोड्ने यो लोकमार्गले पहाडी जिल्लाको आर्थिक जनजीवनमा सुधार आउने विश्वास सर्वसाधारणको छ । लोकमार्गको निर्माण सुरु भएदेखि नै पाँचथरको च्याङथापु, ओयाम, थर्पुलगायत साना बजारमा बजारीकरण सुरु भएको छ । यता तेह्रथुमको चुवानडाँडा, सङक्रान्ती बजार, वसन्तुपुरलगायत क्षेत्रमा पनि बजारीकरण हुन थालेको बताइन्छ । पाँचथर र तेह्रथुममात्र नभएर लोकमार्गले छुने प्रदेश नंं. १ का विभिन्न जिल्लाका साना ग्रामीण बजार सहरीकरण हुँदै गएको बताइएको छ । सरकाले यसअघि नै मध्यपहाडी लोकमार्गले छोएका १० सहरलाई नमुना सहरको रूपमा विकास गर्ने लक्ष्य लिएर सोही अनुरुप पाँचथरको फिदिम र तेह्रथुमको वसन्तपुरका कार्यक्रम सुरु गरिसकेको छ ।