कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५
480

नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २१.९३ मेगावाटको काबेली–३ र २३ मेगावाटको मेवा खोला जलविद्युत् आयोजनाबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।
ताप्लेजुङमा निर्माण हुन लागेका दुवै आयोजनाको टेकअरपे (लिऊ या तिर) प्रावधानमा पीपीए भएको हो । यसअघि विद्युत् प्राधिरकण टेक एन्ड पे (लिऊ र तिर) मा पीपीए भएकोमा यसलाई परिवर्तन गरेपछि काबेलीले पहिलोपटक टेकअरपे पीपीए गरेको हो । काबेली हाइड्रो पावर कम्पनीले एक वर्षभित्र वित्तीय व्यवस्थापन गरेर २०७९ साल पुस १ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको प्रबन्धक सञ्चालक मोहन डाँगीले जानकारी दिए । उनका अनुसार, आयोजनाबाट वार्षिक १३ करोड ७० लाख ६४ हजार १ सय ५४ युनिट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ भने लागत करिब साढे ४ अर्ब रुपैयाँ अनुमान छ ।
त्यसैगरी एक वर्षभित्र विस्तृत अध्ययन र वित्तीय व्यवस्थापन गरेर त्यसपछिको चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको युनियन नेवा हाइड्रो कम्पनीका अध्यक्ष किरण मल्लले जानकारी दिए ।