कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
569

काठमाडौं-राष्ट्रिय योजना आयोगले १५आंै योजनाको आधारपत्रबारे प्रदेश अन्तर्गतका नीति/योजना आयोगका पदाधिकारीसँग छलफल गरेको छ ।
आयोगले तयार पारेको आधारपत्रबारे बिहीबार आयोगमा बोलाएर प्रदेश नीति/योजना आयोगका उपाध्यक्षसँग छलफल गरेको हो । प्रदेशले बनाउने योजना र संघले बनाउने योजनाबीचमा समन्वयका साथै सोचमा एकरूपता ल्याउने उद्देश्यले आयोजना गर्न लागेको छलफलमा प्रदेश–१ का उपाध्यक्ष सुवोध प्याकुरेल, २ का डा. हरिवंश झा, ३ का डा. खिमलाल देवकोटा, गण्डकी प्रदेशका डा. गिरिधारी पौडेल, ५ का डा. प्रकाश श्रेष्ठ, कर्णाली प्रदेशका डा. पुण्यप्रसाद रेग्मी र सुदूरपश्चिम प्रदेशका राजेश्वर ज्ञवालीका साथै आर्थिक मामिला मन्त्रालयका सचिवको सहभागिता थियो । छलफलमा आयोगका सहसचिव खोमराज कोइरालाले आयोगले तयार गरिरहेको नेपालको दीर्घकालीन सोच र १५औं योजनाबारे जानकारी दिएका थिए ।
छलफलमा बोल्दै आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले प्रदेश योजना आयोग बनेपछि योजना निर्माण र कामले गति लिएको बताउँदै वार्षिक कार्यक्रम, आवधिक योजना र मध्यकालीन खर्च संरचना तर्जुमालगायतका कार्यमा आयोगबाट समन्वय र सहजीकरण हुने बताए । उनले सही ढंगले योजना तर्जुमा नहुँदा परियोजना असफल हुने गरेको बताउँदै परियोजना बंैक निर्माण गरेर पूर्वतयारीका साथ अघि बढ्नुपर्ने बताए । छलफलमा आयोगका प्रदेश उपाध्यक्षहरूले सम्बन्धित प्रदेशको योजना र यसको निर्माणका क्रममा भएका प्रयासबारे जानकारी दिएका थिए ।